सिमराः निर्वाचन आचारसंहिता विपरित भोट माग्दै हिँडेका जलस्रोत राज्यमन्त्री अमरसिंह पुनलाई गाउँलेले समातेर प्रहरीलाई बुझाएका छन् । बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–११ फत्तेपुरमा कांग्रेसका कार्यकर्तासहित भोट माग्दै हिँडेका मन्त्री पुनलाई स्थानीयले घेराउ गरी गाडीसहित नियन्त्रणमा लिएका हुन् । बाढीपीडितको अवस्था बुझ्न भन्दै फत्तेपुर आएका मन्त्रीले गाउँमा भोट मागेको देखेपछि स्थानियले नियन्त्रणमा लिएका हुन् ।
सरकारबाटै आचारसंहिता उलंघन गरेको भन्दै मन्त्रीलाई स्थानीयले नियन्त्रणमा लिएपछि प्रहरीले उद्धार गरेको थियो । आक्रोशित स्थानीयले विरोध गरेपछि फत्तेपुरबाट मन्त्री जीतपुर–सिमरा उपमहानगरपालिका १० खेस्रोल पुगेका थिए । आक्रोशित स्थानीयलाई छलेर खेस्रोल आएका मन्त्रीलाई घेर्दै नियन्त्रणमा लिएपछि प्रहरी पुगेर उद्धार गरेको हो ।
नियन्त्रणमा परेका राज्यमन्त्री पुनले गृहमन्त्रालयबाट अनुमती लिएर आफू गाउँ आएको बताएका छन् । स्थानीयको नियन्त्रणमा परेपछि मन्त्री सिंहले सफाई दिँदै गृहमन्त्रालयसँग अनुमति लिएर आएकाले आफ्नो गल्ती नभएको बताए । मन्त्रीले बचाउ गरे पनि स्थानीयले भने आचारसंहिता उलंघन गर्न नमिल्ने भन्दै घेराउ गरेका थिए ।
मन्त्री घेराउमा परेको सूचना पाएपछि प्रहरीले उद्धार गरेको हो । मन्त्रीलाई उद्धार गर्ने क्रममा प्रहरीले बल पनि प्रयोग गर्यो । इलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले स्थानीयले विरोध गरेर घेरेको अवस्थामा मन्त्रीको उद्दार गरेको बताए।