महाेत्तरी । महोत्तरी र धनुषाको सीमानामा पर्ने रातु खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा आइतवार बेलुकी ७ बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
राजमार्ग अवरुद्ध हुँदा महोत्तरीको बर्दिवास र धनुषाको ढल्केबर सहित पूर्व पश्चिम राजमार्गको ठाउँ–ठाउँमा सयौँ गाडी रोकिएका छन् । यात्रुहरु अलपत्र परेका छन् । बिरामी बोकेको एम्बुलेन्स समेत चल्न सकेका छैनन् ।
साउन अन्तिम हप्ता आएको भीषण वर्षापछि रातु खोलाको पुलमा पश्चिम तर्फको ४ नम्वर पिल्लर भासिएपछि डाइभर्सनबाट निकै मुस्किलले यातायात सञ्चालन हुँदै आएको थियो ।
पुल भासिएको ठाउँमा सडक डिभिजन कार्यालय मुजेलिया धनुषाले बेलीब्रिज जडानको काम गरिरहेको छ । बेलीब्रिज जडान गर्ने काम लगभग सक्किएकाले बेली ब्रिजबाट यातयात सञ्चालनको तयारी भैरहेको कार्यालयले जनाएको छ ।