काठमाडौं । पाकिस्तानमा अघिल्लो वर्ष अक्टुबरमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिज हुँदै थियो। इस्लामाबादमा हुने योनेक्स सनराइज पाकिस्तान इन्टरनेशनल ब्याडमिन्टन सिरिज खेल्न भाइ रत्न र नङ्सल तामाङसहित पाँच जना खेलाडी भारतको अमृतसर हुँदै ट्रेनमा पाकिस्तानको बोर्डर पुगे। बोर्डरमा आयोजकले नेपाली खेलाडीलाई कुरिरहेका थिए।
बोर्डरबाट चाररपाँच घण्टाको यात्रापछि नङ्सलसहित नेपाली टोली इस्लामावाद पुग्यो। पाकिस्तान स्पोट्स सेन्टरको होस्टलमा नेपाली खेलाडीलाई बस्ने व्यवस्था मिलाइयो, जहाँ मलेसिया, इराक, सिरिया, माल्दिभ्स लगायत सात देशका खेलाडी पनि थिए। पछिल्लो समय घरेलु महिला ब्याडमिन्टनमा एकछत्र राज गरेकी नङ्सलले सिंगल्सतर्फको पहिलो र दोस्रो खेल पाकिस्तानकै खेलाडीसंग पर्यो।
लामो यात्रापछि आयोजनास्थल पुगेका नेपाली खेलाडीलाई घरेलु खेलाडीसंग सुरुवातमै प्रतिस्पर्धा गर्नु कम चुनौतीपूर्ण थिएन। तर, नङ्सलले हिम्मत हारिनन्, खेल जित्ने दृढ संकल्पका साथ कोर्टमा उत्रिइन्। कडा प्रतिस्पर्धाका बाबजुत नङ्सलले सुरुवाती दुवै खेल जितिन्। त्यसपछि उनको यात्रा तय भयो सेमिफाइनलको। तर, सेमिफाइनलमा भने उनी पाकिस्तानकी नम्बर एक खेलाडीसँग पराजित हुँदै तेस्रो स्थानमा सीमित रहन बाध्य भइन्।
सिंगल्सतर्फ च्याम्पियन बन्ने मौका गुमाइसकेकी नङ्सल मिक्स डबल्सको प्रतिस्पर्धा पनि पाकिस्तानको नम्बर एक अर्को टोलीसँग पर्यो। सिङ्गल्सतर्फ पाकिस्तानकै खेलाडीसँग पराजित भएकी नङ्सललाई डबल्सतिर भने केही आशा थियो। ‘पहिलो खेल नै पाकिस्तानको नम्बर एक जोडीसंग परेको थियो,’ ऐतिहासिक क्षण सम्झदै उनले भनिन्, ‘हामी हतास भएनौ, नतिजाभन्दा पनि हाम्रो दिमागमा उत्कृष्ट खेल कसरी पस्कन सकिन्छ भन्नेमै केन्द्रीत थियौं। खेल निकै प्रतिस्पर्धात्मक भयो र अन्त्यमा हामीले जित्यौं पनि।’
पहिलो खेलमै नम्बर एक जोडीलाई हराइसकेकाले त्यसपछिका खेल जित्न त्यति गाह्रो भएन। फाइनलमा आफ्नै भाइ रत्नजित र नङ्सलको जोडीले पाकिस्तानी मेहमोना अमिर र मोहम्मद भाटीको जोडीलाई २१–१३, २१–१५ को सोझो सेटमा हराउँदै नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण दिलाए। ‘स्वर्ण जित्दाको क्षण निकै गर्विलो थियो,’ नङ्सलले भनिन्, ‘सवैको मुहारमा खुशी थियो। मुखबाट कुनै शब्द निस्कन सकेको थिएन। केबल आँखाबाट आशुमात्रै बगिरहेका थिए, हर्षका। त्यतिकैमा केहीबेरमै हामीले जितेको खबर चारैतिर फैलिएछ। सबैले सामाजिक सञ्जालमार्फत बधाइ दिइरहेका थिए।’
ब्याडमिन्टनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्दै नेपाल फर्कने क्रममा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरियो। त्यो दिन अझैपनि नङ्सलको स्मृतिमा ताजै छ। अन्तर्राष्ट्रिय स्वर्ण जितेकी नङ्सलले त्यो वर्ष घरेलु खेलकुदमा पनि एकछत्र राज गरिन्। गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा उनले वुमेन्स सिंगल्स, डबल्स, मिक्स डबल्स र टिम स्पर्धामा स्वर्ण तथा वुमेन्स डबल्समा कांस्य पदक जितिन्।
पुष्पलाल स्मृति, कृष्णमोहन स्मृति र खुला राष्ट्रिय ब्याडमिन्टनमा च्याम्पियन बनेकी उनले घरेलु प्रतियोगितामा सिंगल्स तथा टिममा गरी कुल सात उपाधि हात पारेकी थिइन्। उत्कृष्ट प्रदर्शनकै आधारमा गत सोमबार नङ्सलले वर्ष खेलाडीको अवार्ड हात पारिन्। ‘महिला वर्ष खेलाडीको मनोनयनमा एक से एक खेलाडी परेकाले सुरुमा जित्छु जस्तो लागेको थिएन,’ २०६८ सालमा समेत मनोनयनमा परिसकेकी नङ्सलले भनिन्, ‘यसपटक मनोनयनसँगै अवार्ड पाउँदा निकै खुशी लागेको छ। खेलमा प्रतिबद्ध भएर लाग्न अझै हौसला मिलेको छ।’
बुवा दानबहादुर तामाङ ब्याडमिन्टनका राष्ट्रिय खेलाडी थिए। भोजपुर घरनजिकै आउटडोर ब्याटमिन्टन कोर्ट थियो। ‘बुवा र अंकलहरु बाजी थापेर त्यहाँ खेल्नुहुन्थ्यो। हामी खेल हेरेर मनोरञ्ज लिन्थ्यौं। त्यतिबेलाको क्षण सम्झदै नङ्सल भन्छिन्, ‘बुवा प्रतियोगिता खेल्न विराटनगर तथा काठमाडौं आइराख्नु हुन्थ्यो। ट्रफी पनि जितेर ल्याउनु हुन्थ्यो। हामी त्यो ट्रफी समात्न आतुर हुन्थ्यौं। यसरी ब्याडमिन्टनतिरको आकर्षण बढ्दै गयो।’
‘बुवाले दिदी सरासँगै मलाई र भाइलाई पनि ब्याडमिन्टन सिकाउन सुरु गर्नुभयो। बुवालाई आफ्नो पहिलो प्रशिक्षक मान्ने नङसल भन्छिन्, ‘बुवाकै निर्देशन र सिकाइलाई फलो गर्दै हामीले आफ्नो कौशलको विकास गर्दै लग्यौ।’ बुवा दानबहादुरको हात समात्दै पहिलोपटक २०५८ सालमा विराटनगरमा भएको क्षेत्रीय प्रतियोगितामा दिदीसँगै उनी पहिलोपटक ब्याडमिन्टन कोर्टमा उत्रिएकी थिइन्। त्यतिवेला ब्याडमिन्टनका जुनियर प्लेयरहरु त्यति हुन्थेनन्। सजिलै उनी छनोटमा परिन्। तर, सिनियरमा भने दिदीको तगारो उनले पन्छाउन सकिनन्। उमेर समूहको प्रतिस्पर्धाका लागि नङ्सल पोखरा लागिन्।
पोखरामा पहिलो राष्ट्रिय प्रतियोगिता खेलिरहेकी नङसल तेस्रो भएकी थिइन्। पुरस्कार स्वरुप ५ हजार जितिन्। ‘खेल खेल्दा पहिलो पटक पाएको पुरस्कारले मलाई अझै हौसला थप्यो। म अझै प्रतिबद्ध भएर प्रतियोगिता खेल्न थाले। त्यो मेरो खेल जीवनको टर्निङ प्वाइन्ट थिया,’ उनले भनिन्। त्यसपछि जुनियरस्तरका प्रतियोगिता उनले कति खेलिन् त्यसको कुनै तथ्यांक छैन। तर, जुनियर लेभलमा च्याम्पियन बन्न नसकेको कुरा उनलाई सधै खड्किरहन्छ। ‘म सधै दोस्रो, तेस्रो भएँ। तर, उपाधि हात पार्न सकिनँ,’ उनले भनिन्।
सिनियरमा उनले पहिलोपटक उचालेको उपाधि भने २०६७ सालमा हो। त्यसवेला मदन भण्डारीको स्मृतिमा आयोजित प्रतियोगितामा उनी च्याम्पियन बनेकी थिइन्। सिनियरमा प्रभुत्व जमाउने कोशिशमा रहेकी नङ्सलसामू दिदी सरा सदैव बाधक बन्थिन्। २०६८ सालमा सुदूरपश्चिममा भएको छैठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा भने चोटका कारण दिदी सराले सहभागिता नजनाउने भएपछि उनले चार स्वर्ण जितिन्।
सोही प्रदर्शनपछि उनी पहिलोपटक २०६८ सालमा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने स्पोर्टस अवार्डको उत्कृष्ट खेलाडीको मनोनयनमा परेकी थिइन्। १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा वुमेन्स सिंगल्समा उनले नेपाललाई कास्य पदक दिलाएकी थिइन्।
नङ्सलले अब नेपालमै हुने भनिएको १३ औं सागमा प्रदर्शन सुधार्दै स्वर्णको लक्ष्य बुनेकी छिन्। तर, साग समयमै हुने हो कि होइन भन्ने अनिश्चितता रहेकाले त्यसले खेलाडीको जीवनमा ठूलो असर पर्ने उनी बताउँछिन्। ‘प्रतियोगिता खेल्ने भनेर हामीले उत्साहपूर्वक तयारी गरिरहेका हुन्छौं,’ उनले भनिन्, ‘तर, समय परिवर्तन भइरहँदा दिक्क लाग्छ। प्रशिक्षण गर्न पनि जागर चल्दैन।’
खेलकुदमा लाग्दा खेलाडी तथा अभिभावकलाई गर्व महसुस हुने वातावरण बनोस् भन्ने नङ्सल चाहन्छिन्। खेलेरै जीवनयापन चलाउन सक्ने वातावरण भइदिए कोहीपनि प्रतिभावान खेलाडी पलायन हुनुपर्ने अवस्था नआउने उनको विश्वास छ। नेपालखबर