भोजपुर। तीन वर्षपछि भोजपुर सदरमुकाममा नेपालका चर्चित कलाकारको प्रस्तुति हेर्न मानवसागर उर्लियो । हास्यकलाकार विल्सनविक्रम राई ‘तक्मेबूढा’को आगमनले मध्यान्हपछिको चर्को घामसँगै ढल्दै गरेको साँझ झन् गर्मायो । बिदाको दिन परेकाले शनिबारे हटिया भ्याउँदै टाढाटाढाबाट आएका युवायुवती एवं वृद्धवृद्धाहरूसमेत कलाकारको प्रस्तुतिमा झुमे ।
‘हाउ नाइटिङ फोटिङ युद्धो लड्दा पाको मैलै तोक्मा, दुईटा दुश्मन च्वाट्टै काटे रिस उठेको झ्वाँक्मा । देउराली बनेछ ढुंगाको, डर केलाई मान्छौ जुँगाको, काटिदिउँला बरु जम्मै ।’ तक्मेबूढाले आफ्नो बेजोड प्रस्तुतिमार्फत उपस्थित दर्शकलाई पेट मिचिमिची हाँस्न बाध्य बनाए।
विभिन्न घटनालाई हास्यव्यंग्यात्मक शैलीमा प्रस्तुत गर्न सिपालु उनको प्रस्तुति हेर्न चार घन्टाभन्दा बढी समय हिँडेर दर्शक आएका थिए । ‘तक्मेबूढा’, ‘सेन्तेरेम’जस्ता उपनामले चिनिएका विल्सनविक्रम राईले हास्य प्रस्तुतिसँगै ‘आज घर जान्न म त मार्छे बूढीले’, बोलको गीत पनि गाए भने ‘कुटुमा कुटु सुपारी दाना’ मा नृत्य गरेर सबैलाई दंग बनाए ।
कार्यक्रममा अर्को आकर्षण थिए ‘किङ अफ किङ’ अर्थात् राजेशपायल राई । उनको धमाकेदार प्रस्तुतिले दर्शकमा एक तमासको उल्लास छाएको थियो । ‘तिमीले बाटो फेरेऊ’, ‘म त क्या हो ठूली’, ‘दर्शन नमस्ते’, ‘मोहनी लाग्ला है’, ‘तिमीसँग जिउने मर्ने चाहना छ मेरो’, ‘उकालीमा जाँदाजाँदै दाहिने पर्यो वर’ लगायतका हिट नम्बर प्रस्तुत गर्दा हजारौं दर्शक उनीसँग स्वरमा स्वर मिलाउँदै गाइरहेका थिए । राजेशपायलले गीत गाइरहँदा कार्यक्रमस्थलमा धुलोले रंगिए पनि कसैले त्यसको वास्ता नगरै नाचेका थिए । कार्यक्रममा उनले भोजपुर नगरपालिका–५, बोखिमका ८१ वर्षीय वृद्ध विष्णुप्रसाद फुयाँललाई १० हजार रुपैयाँ सहयोग पनि गरे ।
कार्यक्रममा युवापुस्ताले रुचाएका गायक कमल खत्रीले ‘सुस्तरी सुस्तरी’, ‘झ्यालैमा झ्यालै बसेर सानी नी’, ‘आत्मामा मेरो आत्मामा’, ‘गल्ती मेरो छैन आज ढिलो हुनमा’ गीत गाएर आम भोजपुरे दर्शकलाई उचाले ।
अर्का भोजपुरे गायक भीषण मुकारुङले ‘अँधेरीमा जून फुल्दा’, श्याम सामसोङको ‘मैच्याङ हो मैच्याङ हो’ बोलका गीत प्रस्तुत गरी दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको थिए । सो अवसरमा जुनु प्रसाईं, चन्द्रकला राई, दाबा के शेर्पा, सुरेन्द्र पुलामी, विभूषण राई, पूर्णबहादुर राईको पनि सांगीतिक प्रस्तुति रहेको थियो । न्यु डाइमन्ड डान्स एन्ड ड्रामा क्रु भोजपुरको आयोजना एवं रोज फर्निचर उद्योग, न्यु अरुण टेलरिङ, सिलिचुङ पाहुनाघरको सहआयोजनामा भएको ‘डायमन्ड कन्सर्ट–२०७४’ लाई टुबोर्ग बियरले साथ दिएको थियो ।
भिडियाे हेर्नुहाेस्