काठमाडौँ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले विसं २०७४ को ‘षडानन्द राष्ट्रिय पुरस्कार’ अध्यात्म चिन्तक प्रा शिवगोपाल रिसाललाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रा रिसाल करिब पाँच दशकदेखि पूर्वीय दर्शनको चिन्तनमा लाग्नुभएको छ । उहाँका सनातन धर्म, संस्कृति र दर्शनका क्षेत्रमा दर्जनौँ पुस्तक प्रकाशित छन् । रिसाल नेपाली भाषा साहित्यका पनि विशिष्ट साधक हुन् । नेपाली भाषामा उहाँका कविता, महाकाव्य र व्याकरणसम्बन्धी कृति प्रकाशित छन् ।
पुरस्कार पूर्वाञ्चलको भोजपुरको दिङ्लामा जन्मिएर नेपालको शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणमा अतुलनीय योगदान पुु¥याएका आबाल ब्रह्मचारी षडानन्द अधिकारीको स्मृतिमा स्थापना भएको हो । पुरस्कारको राशि रु ५० हजार छ ।
विसं १८९२ मा जन्मनुभएका अधिकारीले नेपालमै पहिलो संस्कृत पाठशाला दिङ्लामा खोलेका थिए । पुरस्कार अधिकारीको जन्मजयन्ती मार्ग शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमीका दिन प्रदान गरिने प्रतिष्ठानका सचिव प्रा लालानाथ सुवेदीले जानकारी दिए ।