माओवादी केन्द्र भोजपुरकाे उम्मेदवारमा को–को परे ?

भोजपुर । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र भोजपुरले उम्मेदवार सिफारिस गरेको छ ।
जिल्ला कमिटीले सिफारिस गरेको नाम प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गरेको माओवादी केन्द्र भोजपुरले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि रमेश ओझाको नाम माओवादीले सिफारिस गरेको हो । ओझा जिल्लाको राजनीतिमा परिचित नाम होइन । त्यस्तै प्रतिनिधि सभाको लागि समानुपातिकतर्फ गणेश प्रधान (शिव), हिमालधन राई र दुर्गा राईलाई सिफारिस गरेको छ ।

प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं १ को प्रत्यक्षतर्फ राजेश खतिवडा र दिलकुमार राईको नाम माओवादी केन्द्रले सिफारिस गरेको छ । समानुपातिकतर्फ धर्म किराँती, अमृता राई (आशा) र बबिन्द्र रसाइलीको नाम सिफारिस भएको छ ।

त्यस्तै प्रदेशसभाको लागि क्षेत्र नं २ मा प्रत्यक्षतर्फ सुदन किराँती र नगेन्द्र भुजेलको नाम सिफारिसमा परेको छ । समानुपातिकतर्फ टिकाराम प्रधान (भियम), सुनिता किराँती र दोर्ची शेर्पाको नाम सिफारिस गरेको माओवादी केन्द्र भोजपुरले जनाएको छ ।
भोजपुरमा प्रतिनिधिसभाका लागि एक र प्रदेशसभा निर्वाचनका लागि दुई क्षेत्र कायम भएको छ । उम्मेदवार सिफारिसका लागि कांग्रेस, एमाले लगायतका दलहरु आन्तरिक छलफलमा जुटिरहेका छन् ।