काठमाडौं–४ मा एमालेका राजन भट्टराई , गगन थापासगँ चुनाव लड्ने

भोजपुर । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं– ४ बाट एमालेले राजन भट्टराईलाई उम्मेदवार सिफारिस गरेको छ । क्षेत्रीय कमिटीको बैठकले भट्टराईलाई एकलरुपमा सिफारिस गरेको हो ।

काठमाडौं ४ कै स्थायी बासिन्दा भट्टराईसँग सम्भवत: कांग्रेस नेता गगन थापाको प्रतिस्पर्धा हुनेछ ।

एमाले विदेश विभाग सचिव, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका विदेश मामिला सल्लाहकार भट्टराई अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिका विज्ञ पनि हुन् । भट्टराई नेपाल-भारत प्रबुद्ध समूहका सदस्य हुन् । एमालेका समानुपातिक सांसद उनले क्षेत्र नम्बर ४ कै पशुपतिमित्र मावि चावहिल र पद्मोदय माविबाट विद्यालय शिक्षा पूरा गरेका थिए ।

लन्डन विश्वबिद्यालयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडीबाट अन्तर्राष्ट्रिय राजनीति तथा कूटनीतिक अभ्यासमा स्नातकोत्तर उत्तीर्ण भट्टराईले नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् ।

भट्टराई भूकम्पपछिको उद्दार र राहतमा गौशाला चाबहिल क्षेत्रको नेतृत्व गरेका थिए ।