लक्ष्मीकला राई ‘जुनकिरी’
भोजपुर । मेरो चाड हो आज, भनेर झुक्किएर थाहा पायौ भने “अब्बुइ होर?” भनेर तर्सिने तिमी। तिमिलाई तिम्रो चाडमा किन दिने मैले सुभकामना!? तिमीले कहिले मेरो पर्व मानिदिएको छौ र मैले तिम्रो पर्व मान्नु?
विश्वमा बैज्ञानिक र भौतिक रुपले प्रकृति अनि पुर्खा भन्दा ठुलो अर्को केही नामक देवता हुँदैन। त्यही पुर्खा प्रकृतिलाई धन्यबाद दिएर पुजा गर्ने मेरो पुर्खालाई, तिम्रो पुर्खाले जबर्जस्ति मान्नु लगाएको त्यो दशैं, म मान्दिन भन्दा अन्याय गरि झुन्डाएर दु:खदपुर्ण मृत्यु दिएको मेरो पुर्खालाई म यो ईतिहास लाई चटक्क कहाँ बिर्सन सक्छु र? सत्य ईतिहास लाई नामेट गरि त्यो ईतिहास बाट तिमी टाढा भएको नाटक गर्छौ, त्यसैले तिम्रो दशैको सुभकामना दिनमा अनबिज्ञ छु। तिमिले अर्थात् तिम्रो पुर्खाले मेरो पुर्खाको हत्या नगरेको भए, हिन्दु धर्म नमान्दा जबर्जस्ति नगरेको भए, अबश्य सुभकामना म तिम्रो नाममा चढाउँथें। धार्मिक सद्भाव, सहिष्णुता आत्ममा जगाउथें। म दिन सक्दिन दशैंको सुभकामना!!
रातो टीका निधारभरी लगाउन, शिरभरी जमारा लगाउन तिमिलाई भन्दा दोब्बर खुसी लाग्थ्यो हिजो, जतिबेला म अज्ञानि अर्थात् सानो थिएं। मामला जाने रहर तिमिलाई भन्दा धेरै लाग्थ्यो, आशिर्वाद र दक्षिणा लिने खुब जाँगर चल्थ्यो। तर के थाहा त्यो दशैं जन्माउदा मेरो पुर्खाको मृत्यु भएको थियो भन्ने कुरा। त्यो निधारमा रातो टीका मेरै पुर्खाको रगत ले सिर्जिएको भन्ने कुरा। तर अब त ढिलै भए पनि हाम्रो दिमाग पलाएको छ। लाटो ठानेको तिमिले बुझ्ने भएका छौं। तमु ल्होसार मान्न नमान्दा तिमिलाई कुनै गुरुङले मार्यो? सोनाम ल्होसार मान्न नमान्दा तिमिलाई कुनै तामाङले घाँटी छिनायो? ग्याल्पो ल्होसार मान्न नमान्दा तिमिले पालेको खसी बोका गाई बस्तु मार्दै देबि देवताको नाम मा बलि चढाउदै कुनै शेर्पाले त्रास देखायो? तिमिले उभौली उधौली नमान्दा, धान नाच्न नमान्दा कुनै राई, लिम्बू किरातीहरुले फाँसीमा झुण्डाएर मार्यो?
तिम्रो पहिचान स्थापित गर्न नेपाली भुमिपुत्रको अस्तित्व र पहिचानको हत्या गरेको छौ, हत्या गरेर मात्र छोडेनौ हाम्रो पहिचान छिल्लबिल्ल पारेर काँडा मुनि पुरिदियौ, जसलाई निकाल्न हामीलाई सदियौं बर्ष लाग्नेछ, कयौं बर्ष लाग्यो पनि। तिम्रो संस्कार हामीलाई लादेउ, त्यही संस्कार मा जीवन जिउन बानी पार्यौ। धन्न सति प्रथा चाहिँ लादेनछौ। त्यसमा सन्तुष्ट छौं।
तिमिले यदि समान ब्याबहार गरेको हो भन्ने तर्क राख्छौ भने,
१) जसरी विभिन्न ल्होसार, उभौली, उधौलीमा एक एक दिन सार्बजनिक बिदा दिन्छौ दशैंमा पनि एकदिन मात्र बिदा दिइनुपर्छ। जसको कारण सरकारी कामकाजमा पनि ढिलासुस्ति प्रवृत्ति हटेर जानेछ।
२) तिम्रो पहिचान स्वरुपको पर्बते भाषा जस्तै हाम्रो पहिचानको भाषा पनि स्थापित हुनुपर्छ। र त्यसको लागि जति तिमिले नेपाली भाषा को लागि लगानी गरेको छौ त्यति नै आदिबासीको मातृभाषा मा लगानी हुनुपर्छ। हिजोको दिनमा यहि पर्बते भाषा बोल्न जानेन भनेर आदिबासी, भुमिपुत्र माथी नेपाली भाषाको पुस्तक प्रकाशन गरेर सम्पुर्ण बिद्यालय र क्याम्पस हरुमा पढाइ सुरु गरियो, अब त्यसरी नै हाम्रो मातृभाषाको लागि ब्याबस्था गरिनुपर्छ, अनिबार्य स्कुल क्याम्पस मा हाम्रो मातृभाषाको पढाइ सुरु गरिनुपर्छ। जुन हामीले आफ्नो भाषा बिर्सिसकेका छौं।
३) नेपालको जतिपनी ऐतिहासिक स्थलहरु, मठमन्दिर हरु छन्, ती सबैमा हिन्दुकरण गरिएको छ, यहाँ सम्म कि बिभिन्न बौद्ध स्तुपा, कयौं किरातेस्वर अन्य बिबिध स्थलहरुमा। यी सबै माथी रोक लगाइनुपर्छ। बौद्ध धर्म र किरात सभ्यता हिन्दु धर्ममा गाभ्ने यो चक्रिय षड्यन्त्रको खेल तोडिनुपर्छ। ताकी नेपालको छुट्टै हाम्रो ईतिहास भोलि गएर बिदेशी आयातित हिन्दु धर्ममा नगाभियोस्। र ईतिहासमा हाम्रो सन्ततिले हामीमाथी खेद् प्रकट नगरोस्।
सबै जातको फुलबारी भन्ने तिमी, नामाकरण गर्ने तिमी तर, एकप्रकारको फुलको मात्र माली बन्ने तिम्रो नीति नियममा परिबर्तन गरि आदिबासी, भुमिपुत्र फुलहरुको माली पनि अब निर्माण गरिनुपर्छ। एकल ब्याबस्था तोडेर ती सबै बारिको फुलहरुको अस्तित्व र पहिचान जोगाउनुपर्छ। अनि मात्र फुलबारी साच्चै सुन्दर देखिनेछ, अनि मात्र तिम्रो त्यो ब्याख्याले सार्थकता पाउनेछ। नत्र खोक्रो रास्ट्रवाद ले आफ्नो घोक्रो नफुल्याएको राम्रो।
राज्यबाट हामिलाई पहिलो दर्जाको नागरिक साच्चै अबको दिनमा ठान्ने हो भने र ठानेको छौ भने, यी माथिका मेरा प्रस्तावहरु या त भनौं अझै थप बिकल्पहरु लाई कार्यन्वयन गरिनुपर्छ। अनि मात्र मेरो तर्फबाट धार्मिक सद्भाव, सहिष्णुता रहनेछ। हिमाल, पहाड देखि तराई बासी नेपालका सम्पुर्ण जनजाती आदिबासीको विभिन्न चाड पर्व प्रती ध्यानाकर्षण जाओस्, नकि तिम्रै मात्र दुनियाभाँतीका चाड बाड भन्दै सरकारी कार्यलय बन्द गर्नु।।
धन्यबाद।