प्रचण्ड एमालेतिर, गोपाल किराँतीको अर्काे तिर (विज्ञप्तिसहित)

काठमाडौं । माओवादी केन्द्रका नेता गोपाल किराँतीले प्रचण्डको पार्टी परित्याग गरेका छन् । किराँतीले पार्टी अध्यक्ष प्रचण्डले पार्टीको नियम विपरित हतारमा एमालेसँग एकता भन्दै छुट्टै पार्टी भेलाको आयोजना समेत गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै उनले मालेमावादलाई प्रचण्ड समूहले धरापमा पारेर एमालेसँग विलय गरेको आरोप लगाउँदै केन्द्रीय आयोजक भेला घोषणा गरेको बताएका छन् । नेता किराँतीले प्रचण्ड समूहले गरेको एमाले विलयका विरुद्ध देशव्यापी भण्डाफोर गर्ने बताएका छन् । एमालेसँग चुनाव तालमेल र पछि एकता गर्ने निर्णयप्रति माओवादीका चार स्थायी समिति सदस्य गोपाल किराँती, मणि शर्मा, मातृका यादव र प्रभु शाहले असहमति जाहेर गरेका थिए ।

यस्तो छ किराँतीले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ
१. मार्क्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्दालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।
२.पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु ।
३.सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु ।
४.भेला आयोजक समिति गठन अघि एक पटक श्री प्रचण्डसँग वार्ता गरिनेछ ।
५.चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु । नयाँ आधारमा माओवादी केन्द्रलाई पूनरगठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु ।

गोपाल किराँती

नेकपा माओवादी केन्द्र,

सचिवालय सदस्य