भोजपुर । सामुदायिक भवनमा आईतबार छुट्टीको दिन साँझ ढल्कदैँ गर्दा सदरमुकाम आसपासका गाउँदेखि लिएर अन्यत्र ठाउँसम्माका चलचित्र ‘विदेशीकी स्वास्नी’ हेर्न आएका भोजपुरे दर्शक खचाखचले भरिए ।
‘भोजपुरले एकदिन कलाकारिता क्षेत्रमा एकछत्र राज जमाएर शिर उच्च पार्ने सम्भावना बोकेका यी हाम्रा कलाकारहरुको प्रस्तुतिले दर्शाएको छ । अझैपनि भावी पिँढीमा दयाहाङ राई जस्ता व्यक्तित्व कलाकार जन्माउनेमा भोजपुरले कुनै कसुर छोड्नेछैन ।’ साँझको शो हेरेर बाहिर निस्कदैँ भोजपुर नगरपालिका ७, चारभञ्जाङ निबासी ४८ बर्षिय नारायण श्रेष्ठले यस्तो प्रतिक्रिया दिए ।
तिहार विशेष अवसरमा दिवा एक शो देखाएर साँझको दोश्रो शो राखिएको चलचित्र हेर्न भनि उत्साहित भोजपुरे दर्शकको हलमा बेजोड उपस्थिती देखिन्थ्यो । भोजपुरे सिनेमा बन्द भएको बर्षौ वितेको छ । भोजपुर बजारस्थित एकमात्र फिल्मी हल ‘शिवशक्ति’ चलचित्र मन्दिरको भवन बैशाख १२ गतेको भुकम्पले भत्काएपछि जिर्ण बनेको छ । अहिले यो भवन जिर्ण र लथालिङ्ग अवस्थामा छ ।
यसरी पनि सानो पर्दामा भन्दा ठुलो पर्दामा तीन घण्टे चलचित्र हेरेर मनोरञ्जन लिनलाई पनि प्रोजेक्टरको माध्यमबाट देखाईएको सामाजिक घटनाक्रममा आधारित स्थानिय कलाकारको मेहनतको प्रतिफल चलचित्र विदेशीकी स्वास्नी ले दिन खोजेको सन्देशले सबै भोजपुरेलाई नेपाली समाजमा हुने अन्धविश्वास कुरितीको महसुस गरायो ।
स्थानिय नवोदित कलाकारको लामो प्रयास र लगनपछि ६ महिनाको समयमा भोजपुरका विभिन्न स्थानहरुमा छायांकन गर्नुका साथै काठमाडौँका केहि स्थानहरुको दृश्य देख्न पाईन्छ । विदेशीकी स्वास्नीहरुलाई समाजमा हेर्ने दुष्टिकोण, सोचाई र त्यसको बास्तविकतालाई उतार्न खोजिएको कलाकार तथा लेखक विरोध बस्नेतले बताए । भोजपुरका शसक्त कलाकार विनोद प्रधानद्धारा निर्देशित चलचित्रमा दुखले सुख निम्त्याउँछ, सुखले काल निम्त्याउँछ भन्ने सन्देश दिन खोजिएको छ ।
सामाजिक घटनामा आधारित चलचित्र निमार्णबाट स्थानीय कलाकारहरुको उत्पादन तथा प्रवद्र्धन मुख्य लक्ष्य रहेको निर्देशक विनोद प्रधानले जानकारी दिए । निमार्ण गरिएको चलचित्रको प्रर्दशनीपछि आगामी दिनमा स्थानीय बिषयबस्तुहरुलाई उठान गरी सँस्कृतिलाई संरक्षण गर्ने खालको चलचित्र निमार्ण गरिने पनि निर्देशक प्रधानको भनाई छ ।
चलचित्र ‘विदेशीकी स्वास्नी’मा शरण प्रधान, अस्मिता राई, विनोद प्रधान, कविता राई, विवेक राई, देवराज प्रधान, सुशिला तामाङ, विरोध बस्नेत, गणेश प्रधान, दिपक शाक्य, मिलन राई, शिव श्रेष्ठ, विनोद भण्डारी र सुरज खड्को मुख्य अभिनय रहेको छ ।