स्थानीय फुटबल मैदानमा देखिएका यी तीन रेफ्री

भोजपुर । गत महिना भोजपुर सदरमुकाममा सञ्चालित जिल्लास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेलमा तीन मिनी रेफ्रीहरू मैदानमा उत्रिएका देखिए । ती मिनी रेफ्रीहरू थिए, ६ वर्षीय विवेक, साढे सात वर्षीय मिलन र साढे पाँच वर्षीय विनोद ।

फ्रान्सको राष्ट्रिय फुटबल जर्सी र फित्ते चप्पलमा दिनभर स्थानीय टुँडिखेलको निरीक्षणको अभिभारा पाएका ती तीन भाइहरू खासमा खेल अवधिभर मैदानबाट खेलाडीद्वारा बाहिरिएका बलहरू टिप्ने, ल्याउने, खोज्ने, दिनेजस्ता भूमिकामा पो रहेछन् । एकअर्कामा कानेखुसी गर्दै भइरहेको फुटबल खेलको समीक्षामा मग्न ती तीन भाइ फाइनल खेलको आधा सकिँदा खेलमैदानको मध्यभागमा अँगालो मारेर हिँडेको दृश्यले सबैको ध्यान आकृष्ट गरेको थियो ।

फुटबल प्रतियोगिता हेर्न आएका दर्शकमध्ये एकले भन्दै थिए, ‘ओहो आजको रेफ्री त यी तीन फुच्चे भाइ पो हो त । हेर त, हाहा ।’ यो सुनेर सगोलमा आसपासका मानिस पनि हाँस्दै थिए ।

हाँसोमा उडाउनलाई हो या खिसी गरेर होच्याउनलाई मलाई ती मानिसको हाँसो र ठट्यौली मन परेन । तर ती कठै साना फुच्चे भाइहरू एक गरिब बाबुआमाका बच्चाहरू पो रहेछन् जब म उनीहरूको सामुन्ने पुगेँ । उनीहरूले लगाएको त्यो पहिरन र चालढालबाट उनीहरूको यथार्थपन परिभाषित भएको थियो । मैले छेउमा गएर ‘ए भाइहरू एकछिन बस त’ भने । नभन्दै उनीहरूले ‘ए दाइ तपाईंको क्यामराले हाम्रो फोटो खिचिदिनुन न’ भने । ती तीन फुच्चे भाइहरूमध्ये विवेकले मैले बोकेको क्यामरातिर इसारा गरे । मैले उनीहरूको त्यो मीठो बाल्यपनको दोस्तीलाई क्यामरामा कैद गर्ने निधो गरी एक क्लिक लिएँ ।

फोटो खिचिसकेर उनीहरू हिँड्नै लाग्दा मैले सोधिहाँले, ‘भाइहरू तिमीहरू आजको यो खेलमा के हौ ? एउटै ड्रेसमा छौ त तीनजना ।’ उनीहरूले मीठो मुस्कान दिँदै एकै स्वरमा भने, ‘दाइ हामी पनि रेफ्री ।’ अन्नपूर्ण