संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा सायद रगत दिनुपर्ने बिरामी भर्ना नभएको कुनै दिन हुन्न । अस्पतालमा ब्लड बैंक छैन । इमरजेन्सी कक्षमा बिरामी रगत नपाएर छट्पटाइरहेका हुन्छन । चिकित्सक भने सैनिक गुल्मपति र प्रहरी प्रमुखलाई फोन डायल गरी सोध्छन, इमर्जेन्सी र्पयो सर, रगत चाहियो । ड्युटीमा खटिएका सैनिक, प्रहरीलाई हतार हतार गरी हाकिमबाट बोलावट हुन्छ । मिल्दो रक्तसमूह पत्ता लागेपछि उनीहरू ड्युटी छाडेर अस्पताल दौडिन्छन ।
रक्तसञ्चार सेवा नहुँदा जिल्लामा नेपाली सेना र प्रहरी ब्लड बैंक बन्ने गरेका छन्। । स्वास्थ्यकर्मीलाई रक्तसमूह परीक्षण गर्न र रक्तदाता जुटाउनैमा एक घन्टाभन्दा बढी लाग्छ । जिल्ला स्वास्थ्यको मागअनुसार सैनिक, प्रहरी जवानले यसरी आपतकालीन रक्तदान गर्न थालेको वर्षौं भइसक्यो । बिरामीलाई रगत चाहिए सबैले सम्झने नाम हो, सेना, प्रहरी । जिल्लामा ब्लड बैंकका रूपमा काम गर्दै आएका छन, सैनिक गुल्म र प्रहरी कार्यालय । जिल्ला अस्पतालमा स्वास्थ्यकर्र्मी सेना र प्रहरीबाहेक अन्य पेसा व्यवसायीले प्रायःजसो रक्तदान गरेको भेटिन्न । खबर गर्न सजिलो र रक्तदानका लागि कन्भिन्स गर्नु नपर्ने भएकाले सीधै सैनिक, प्रहरी कार्यालयलाई अनुरोध गर्ने गरेको जिल्ला स्वास्थ्य कर्यालयका प्रमुख डा. विनित कुमार झाले बताए ।
खाँदबारी स्थित सेनाको बराहदल गुल्मका गुल्मपति विवेक काफ्लेले आफ्ना सिपाहीले धेरै बिरामीलाई मृत्युको मुखबाट बचाएको दाबी गरे । आपत परेका बेला एकैदिन १०÷१५ जनालाई पनि रक्तदान गर्न सकिन्छ, उनले भने, गुल्म नहुँदो त अकालमा थुपै्र मान्छे मरिसक्थे । जिल्लाको स्वास्थ्य समस्यालाई बुझेर आफूहरूले इमर्जेन्सी सेवा दिएको उनले बताए । रक्तसमूह मिल्ने सिपाही आफैं रक्तदान गर्न राजीखुसी हुन्छन् । गुल्म भएकाले जुनसुकै समूहको रगत फेला पार्न गाह्रो हुँदैन, काफ्लेले भने ।
सेनाले मात्र होइन प्रहरीले पनि रगत दिएर धेरैको ज्यान बचाएका उदाहरण छन । अस्पतालमा विशेषगरी सुत्केरी र चोटपटकका बिरामीलाई बढी रगत चढाउनुपर्ने अवस्था निम्तिने गरेको छ । चिकित्सकका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी गराउनेहरू बढेझैं उनीहरूलाई रगत चढाउनुपर्ने अवस्था पनि उत्तिकै निम्तिने गर्दछ । त्यसैले जिल्लामा रगतको बढी खाँचो परेको हो ।
यता रेडक्रस पनि ले खाँदबारी स्थित सेनाको बराहदल गुल्म, सदरमुकाम सुरक्षाका लागि आएका सशस्त्र प्रहरी र जिल्ला प्रहरीको जवान र अधिकृतको नामावली र ब्लड ग्रुप राखेर सम्पर्क गर्दै बिरामीलाई रगत उपलब्ध गराउने गरेको छ ।
जिल्ला स्वास्थ्य प्रमुख समेत रहेका अस्पतालका डा. वितिक कुमार झाले बिरामी अन्तिम अवस्थामा आउने हुँदा रगत खोज्न समय लाग्ने गरेको अनुभव सुनाए । हामीकहाँ ब्लड बैंक छैन । ब्लड बैंक नहुँदा रगत सञ्चय गर्न नसकिएको जिल्ला स्वास्थ्य प्रमुख डा. विनित कुमार झाले बताए। यसको व्यवस्थापन गर्न नसक्दा बिरामीलाई रगत दिनुपरेमा प्रहरी र सेनाकै भर पर्नुपर्ने बाध्यता बनेको छ, उनले भने, चाहिँदासाथ हामी सदरमुकामै रहेको सेनाको बराहदल गुल्ममा खबर गर्छौं, केहीबेरमै सेनाका जवानबाट बिरामीलाई रगत दिइहाल्छौ ।डा. झाले भने,ब्लड बैंक स्थापनाका लागि पहल गरिरहेका छौं । सदरमुकाममा समेत ब्लड बैंक नहुँदा बेलाबेला रक्त संकलन हुन सकेको छैन । जिल्लाका अन्य प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य केन्द्र र उपस्वास्थ्य केन्द्रहरू बाट उपचार आशा बोकी बिरामीलाई जिल्लामै ल्याउने गरिन्छ ।