भोजपुरका वामगठबन्धनका उम्मेद्वारहरुको यसाे भने

भाेजपुर ।  आसन्न मंसिर १० को प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको लागि भोजपुरमा आजदेखि वामगठबन्धनको औपचारिक आमसभाका कार्यक्रमहरु शुरु भएका छन् । आमसभामा पस्नुअघि उम्मेद्वारहरुले पत्रकार सम्मेलन गरेर मुलुकको समृद्धी र समग्र भोजपुरको विकास वाम गठबन्धनको उम्मेद्वारहरुको जीतबाट मात्र संभव रहेको दावी गरेका छन् ।

पत्रकार सम्मेलनमा वाम गठबन्धनको तर्फबाट प्रतिनिधी सभा उम्मेद्वार सुदन किरातीले झण्डै ७० प्रतिशत वामपन्थी रहेको देशमा पूँजीवादीहरुले कम्युनिष्टलाई फुटाउ र राज गरको सिद्धान्तमा अगाडी बढ्न नदिएकाले देशको आर्थिक विकास हुन नसकेको बताए । उनले लामो कालखण्डपछिको वामशक्तिहरुको एकताले मुलुकमा दुई तिहाई वहुमत दिलाएर स्थिर र दीगो शासन व्यवस्थामार्फत गणतन्त्र संस्थागत गर्दै जनतालाई अधिकार सम्पन्न बनाउने र समाजवादतर्फ उन्मुख गराउने दावी गरे ।

‘हिजो जित्दा मात्र होइन हार्दा पनि भोजपुरकै माटोमा रमाउने, भोजपुरकै विकासमा लागेका हामीहरुलाई जनताले विश्वास गरेका छन्, रोटी र नुन खाएर लडेका हामीसँग पिजा र वर्गर खाएर टिकट लिएकाहरुसँग प्रतिस्पर्धा हुन सक्दैन १०÷१२ हजार मतले शानदारका साथ चुनाव जित्दैछौं ।’ भोजपुर र संखुवासभाको सीमानामा पर्ने अरुण तेस्रोबाट संखुवासभा जिल्लाले मात्र लाभ लिने कुरा उल्लेख छ, त्यसको प्रत्यक्ष फाइदाको भोजपुरलाई गराउन आफूहरुको भुमिका हुने किरातीको भनाई छ ।

पत्रकारहरुसँग कुरा गर्दै भोजपुर प्रदेश नं. (ख) का उम्मेद्वार शेरधन राईले आफू नारामा मात्र नभई हुनेगरिको मुख्य मन्त्रीको दौडमा लागिसकेको र यो सफल भईछाड्ने भन्दै वाम गठबन्धनका तिनैजना प्रतिनिधी माग्ने होइन आफै निर्णय गर्नसक्ने हैसियतमा पुग्ने भएकाले उम्मेद्वारको तुलना गरेर मतदान गर्न भोजपुरे जनतालाई आव्हान गरे । उनले भने – ‘हामी रुँघ्ने, उँघ्ने, धाउने र माग्ने जनप्रनिधिको रुपमा होइन डाडुपन्यु लिएर आफैंले पस्किने ठाउँमा पुग्नेछौं ।’

वामपन्थीहरुले पटकपट जित्दा पनि भोजपुरेले अनुभुत गर्ने खालको विकास भएन भन्ने आरोपलाई खण्डन गर्दै उम्मेद्वार राईले अहिलेसम्म जिल्लामा भए गरेको विकास आफूहरुकै अगुवाईमा भएको बताए । ‘पूर्वाधार विकास एकै पटकमा ह्वात्तै हुने विषय होइन, यसका लागि निश्चित योजना बनाएर दिनसक्ने पहुँचमा काम गरेपछि असंभव भन्ने केही छैन त्यसको हामी ग्यारेन्टी गछौं ।’ राईले भने । सुनसरी, उदयपुरसँग सीमा जोडिएको भोजपुरको दक्षिणी क्षेत्रलाई भोजपुर सदरमुकाम हुँदै चिनको किमाथाङ्कासम्म जोड्ने गरि काम गर्न सक्ने विकासको एजेण्डा पनि राईले राखेका छन् ।

भोजपुर प्रदेश नं. (क) का उम्मेद्वार राजेन्द्र राईले जनतासँग प्रत्यक्ष जोडिएका स्थानीय विकासका एजेण्डाहरुले मात्र जनतामा प्रत्यक्ष अनुभुति गर्न सक्ने भएकाले हुने र गर्नसक्ने कामहरुको सूची बनाएर जनताको घरदैलोमा गएका छौं । उनले जातीय एजेण्डालाई जनताले पराजित गरिसकेको अवस्थामा जातीय सद्रभाव खलबलिने खलबलाउने खालको नभएर सामाजिक र आर्थिक विकासको एजेण्डालाई स्थापित गराउनेगरि आफ्नो उम्मेद्वारी भएको बताए ।

विगतका निर्वाचन र केहि महिनाअघि मात्र सम्पन्न स्थानीय तह निर्वाचनलाई आधार मान्दा भोजपुरमा वाम गठबन्धन भारि मतले अगाडी छ । स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार जिल्लाभर वाम गठबन्धनसँग ४० हजार २१ मत छ भने लोकतान्त्रिक गठबन्धनसँग २१ हजार ९ सय ५ मत छ । यो मतान्तर १८ हजार १ सय १६ छ ।

त्यस्तै प्रदेश नं. (क) मा वाम गठबन्धनको १८ हजार ८ सय ४७ मत छ  भने लोकतान्त्रिक गठबन्धनसँग १३ हजार ३ सय ७९ मत छ । प्रदेश नं. (ख) मा लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धन झण्डै १३ हजार मतसहित अगाडी छ । वाम गठबन्धनको मत जोड्दा २१ हजार १ सय ७४ हुन आउँछ भने लोकतान्त्रिक गठबन्धनसँग ८ हजार ५ सय ६२ मत छ ।