घाइते राइर्लार्इ थप उपचारका लागि धरान लगियो

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१३ नजिकैको भीरथाप्लामा बम विस्फोटमा परी घाइते युवा संघका नेता विक्रम राईलाई थप उपचारका लागि धरान लगिएको छ । भोजपुर अस्पतालमा उपचार हुन नसकेपछि राईलाई धरान लगिएको हो ।
अज्ञात समूहले राखेको टाइम बम हटाउने क्रममा दोहोरो भिडन्त भएको हो । ट्याम्के मैयुङ गाउँपालिका ७ कोटका विक्रम राई कोट एमाले गाउँका सचिव हुन् भने युवा संघ भोजपुरका सचिवालय सदस्य समेत हुन् ।
बमको छर्राले उनको टाउको र खुट्टामा गम्भिर चोट लागेको छ । बमको छर्रा लागेर दुई जना प्रहरी घाइते भएका छन् । प्रहरी सहायक निरिक्षक उमेश मेहेता र प्रहरी जवान देवनारायण चौधरी घाइते भएका हुन् ।
विहान उक्त स्थानमा दुइ जना युवाले बम राखेका थिए । बम राख्दै गरेको स्थानीय युवाले देखेपछि अरुलाई खवर गरेका थिए । खवर पछि नजिकै रहेको सुन्तले प्रहरी चौकीबाट प्रहरी घट्नास्थल पुगेका थिए ।
प्रहरीले सवारीलाइ रोकेर सुरक्षा दिइरहेको बेला बम पड्किएको थियो । बम पड्किएपछि बम राख्ने समुहले वाटो माथिबाट गोलि समेत चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख गित नारायण चौधरीले बताए । बम विष्फोट भएको ठाउँमा दोहोरो भिडन्त समेत भएको प्रहरीले बताएको छ ।
प्रहरीले जवाफी कारबाहीमा १९ राउन्ड गोली चलाएको थियो । बम राख्ने र गोली हान्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।