भोजपुर । बोली, कथन, रचना, कथाको अक्षर, शब्दले भन्दा चित्रले आधाभन्दा धेरै कुरा बोलेको, वर्णन गरेको हुन्छ, जुन सबैलाई व्यतितै छ । चित्रमा सहजै सबै चरित्र चित्रण गरेको हुन्छ । आदिमकालका कथाकार, ईतिहासकार सर्जकहरुले पनि कुदिँएका, चित्रण गरिएका, पौराणिक चित्रबाट आफ्नो सृजनालाई शब्दबाट यथार्थ पोखे । जसले गर्दा हामी ईतिहासको कल्पना गर्न र पढ्न पाएका छौँ ।
धार्मिक आस्थाका प्रतिमूर्ति भित्तामा टाँसिएका देवीदेवताको चित्र हेरेरै हामी कुन देवीदेवता कस्ता र कस्ता भेषभुषा धारण गरेका थिए भनेर परिकल्पना गर्न सक्छौँ । सार्बजनिक स्थलमा टाँसिने देवीदेवतादेखि चलचित्र, विज्ञापनको चित्र, पोस्टर हेरेरै बास्तविकताको आधाभन्दा बढि नै कल्पना गरिसकेका हुन्छौ । चित्रमा एउटा त्यस्तो शक्ति बसेको हुन्छ, जुन प्रेरणादायी कथाब्यथा, भावना बोकेको हुन्छ, बोलेको हुन्छ । जसले मानिसलाई गहिरिएर भावनामा मनन गर्न, पाठ सिकाउने गर्छ । यस्तै भोजपुर सदरमुकामको बजार विचविचका भित्ताहरुमा आफ्नो चित्रकलालाई बास्तविकतामा उतारेर बालबालिका, सर्बसाधारणमा प्रेरणा थप्ने काम गरेका छन्, भोजपुर नगरपालिका ११, आम्तेकका २१ बर्षिय जगन राई ।सानैदेखि ‘आर्टस’मा औधि रुचि राख्ने राई फुर्सद पाउनसाथ चित्र कोर्ने गरको उनी सुनाउँछन् । साथै सदरमुकामकै निजी सिद्धकाली बोर्डिङ स्कुलबाट एसएलसी सकेका उनी पढाईमा अब्बल विद्यार्थी पनि हुन् । २०७० सालमा यहाँबाट एसएलसी सकेर काठमाडौँमा विज्ञान विषय दुईवर्ष पढि भारतको कोलकत्तास्थित गर्भरमेन्ट कलेजमा अफ आर्ट एण्ड हेण्डिक्राफ्ट विषयमा स्नातकोत्तर गरिरहेका छन् । पढाई छुट्टिको समयमा घर आएका उनले आफु आएकोबेला भोजपुरमा केहि छाप छोडेर जाने उनले ईच्छा व्यक्त गरे । विगत २ हप्तादेखि सदरमुकामका विभिन्न चोक, गल्लीहरुका भित्तामा आफ्नो कलाकारितालाई निखारिरहेका छन् ।
उनले बनाएको भित्ते चित्र ‘वाल पेन्टिङ’ले स्कुले विद्यार्थीहरुको मनमा प्रेरणा र शान्ति थपोस् भन्ने मनसाय रहेको उनी बताउँछन् । ‘भोजपुरमा अहिलेसम्म यस्तो काम कसैले गरेका छैनन् । स्कुले विद्यार्थी भाईबहिनीहरु स्कुलबाट फर्कदा जाँदा यहि चित्र हेरेर केहि सिकोस् भन्ने मेरो चाहना छ ।’ उनले गर्विलो भावनामा भने ।
दैनिकजसो बजार भर्न आएका सर्बसाधरण मानिसहरु उनको चित्रमा झुम्मिने गर्छन्, एकोरिने गर्छन् । उनले बनाएका चित्रहरु प्राय गरि प्रेरणा झल्कने किसिमका छन् । चित्रमा उनले भगवान बुद्ध लगायत प्रेरणाका श्रोतहरु झल्काउने किसिमका चित्रहरु उतारेका छन् ।
विशेषगरि बालबालिकाहरुलाई प्रेरणाको श्रोत बनेको उनका चित्रमा भगवान गौतम बुद्धका सन्देशस्वरुप शान्ति र प्रेमलाई पखेटामार्फत बुद्धको चित्रमा पखेटा र प्रेमको प्रतिक पाना (हर्ट) भोजपुुर टुँडिखेलको प्रवेशद्धारको भित्तामा बनाएका छन् भने भोजपुर बजार महादेव थान नजिकैको भित्तामा कुनै महान व्यक्तिको चित्र कुँदेका छन् ।