भोजपुरमा दलहरु २४ सै घण्टा मतपेटिको सुरक्षामा खट्दै

भोजपुर । मंसिर १० गते निर्वाचन भएको भोजपुरमा मतपेटिकाको सुरक्षाको लागि सुरक्षाकर्मी र भोजपुरका दलहरुले खटिरहेका छन् ।  मतगणना मंसिर २१ गते साँझबाट मात्र हुने भएपछि दलहरु मतपेटिको सुरक्षामा जुटेका हुन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको मतपेटिकाको सुरक्षा दिनका लागि राजनैतिक दलका प्रतिनिधिहरुले समेत समय तालिका वनाएर जुटेका छन् । मतपेटिकालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयको ३ वटा कोठामा सिलवन्दी गरेर राखिएको मुख्य निर्वाचन अधिकृतको अधिकृत हरिश्चन्द्र इङनामले बताउनु भयो ।

मतपेटिकाको सुरक्षाको दिन प्रहरी,  सशस्त्र प्रहरी र नेपाली सेना  २४ सै घण्टा  तयारी अवस्थामा रहेकोे जिल्ला सुरक्षा समितिले जनाएको छ । त्यस्तै मतपेटिका सुरक्षाको लागि बाम गठबन्धनबाट राजेश खतिवडा र दुर्गा योञ्जनको नेत्वृतमा १६ जना दलका प्रतिनिधिहरु २४ सै घण्टा सुरक्षामा खटिएको जनाएको छ । यसैगरि लोकलान्त्रिक गठवन्धनले समेत आफ्ना प्रतिनिधिहरु सुरक्षाको लागि खटाइएको जनाएको छ ।

भोजपुर जिल्लाको एक सय ४८ ओटा मतदान केन्द्रमा  गरिएको निर्वाचनमा ५८ दशमलव ५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा एक प्रतिनिधि र दुई  प्रदेश सभा सदस्यको लागि निर्वाचन भएको हो ।