भोजपुरमा यसरी मनाए उधौली साकेला किराँत राईहरूले (फोटो फिचर)

भोजपुर । किराँत राईहरुको साँस्कृतिक पर्व साकेला आज धुमधामका सँग मनाइएको छ । घरमा अन्न भित्र्यााएको खुसियालीमा प्रकृतिपूजक किराँत राईहरु मंसिर शुक्ल पूर्णिमा दिन उधौली मनाइएको हो ।
देशका विभिन्न जिल्लामा बसोबास गर्ने किराँत राईहरु साकेला सिलीको तालमा नाच्दै, रमाउँदै उधौली मनाइरहेका छन् । बालीनाली राम्रो भएकोमा प्रकृतिलाई धन्यवाद दिन मनाइने यो पर्वमा किराँत विधिअनुसार सुम्निमा र पारुहाङको पूजा गरिने किराँत संस्कृतिविद चक्रप्रसाद राई बताउँनुहुन्छ ।
गुराँस वा आरु फुलेको याम, जुनबेला चरा तथा खोलाका माछाहरु उत्तरतिर लागेको बेला बाली लगाउने याम मानेर अन्नबाली सप्रयोस् सहकाल होस् भन्ने कामना गर्दै उभौली र पैयुँ फुलेको समयमा चरा र खोलाका माछाहरु दक्षिणतिर लाग्ने बेला अन्नबाली भित्राउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पूर्खालाई चढाएर सुःख समृद्धिको कामना गर्दै उधौली पर्व मनाउने चलन रहेको किरात राई यायोक्खा, भोजपुरका अध्यक्ष पावीहाङ्ग राइ बताउँनुहुन्छ ।
मान्छेलाई खेती गर्ने ठाउँ दिने प्रकृति र खेती गर्न सिकाउने पूर्वजहरुको सम्मानस्वरुप यो पर्वमा भूमिपूजा गरिन्छ । त्यस्तै, अन्न राख्ने भकारीमा पूजा गर्नु चूल्होमा कुखुराको बलि दिनु र ढोल झ्याम्टाको तालमा चरा, दुम्सीजस्ता पशुपंक्षीको अनुकरण गर्दै नाच्नु पनि यो पर्वको अर्को विशेषता रहेको भोजपुर नाक्छुङ्ग विदुर राई बताउनुहुन्छ ।
प्रकृतिलाई खुशी राख्नका लागि किराँत राई समुदायहरु बाली लगाउने समय पारेर बैशाख पूर्णिमामा उभौली र अन्न बाली घरमा भित्र्याएपछि मंसिरे पूर्णिमामा उधौली पर्व मनाउने गर्छन् । उधौली पर्वमा किरात राईहरु आफ्नो पूर्खाहरुले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुल खाने काँचो बनतरुलको टिका लगाउने सबेरै काँचो बनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमुल भोजनका रुपमा ग्रहण गर्ने गर्दछन् ।