काठमाडौं । सोमबार बिहान घरदैलोका क्रममा विस्फोटमा परि घाइते भएका कांग्रेस उम्मेदवार गगनकुमार थापाको कान र ढाडमा गहिरो चोट लागेको छ । थापाको प्राथमिक उपचारपछि त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा भर्ना भएका छन् ।
काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार बनेका थापा सहित सातजना विस्फोटमा घाइते भएका छन्। उनीहरूको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
प्रहरीले सातजना घाइते भएको पुष्टि गरे पनि प्रत्यक्षदर्शीहरूले १५ जना घाइते भएको बताएका छन्। प्रत्यक्षदर्शी नारायणदेवी श्रेष्ठका अनुसार घाइते राजकाजी श्रेष्ठको घुँडा फुटेको छ। विस्फोटलगत्तै उनको खुट्टाबाट रगत बगेको आफूले देखेकोप उनले बताइन्। अर्का घाइते श्यामकृष्ण श्रेष्ठको छाति र कुममा छर्रा लागेको छ। स्कुटीमा रहेको रेणु बरालको अनुहारमा चोट लागेको छ। उनी सवार स्कुटी विस्फोटमा क्षतविक्षत भएको छ। अर्का घाइते जयराज लामिछाने तिघ्रामा चोट छ।
शिक्षण अस्पतालमा उपचार गराइरहेका सातजना मध्ये अन्यको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। शिक्षण अस्पतालको इमर्जेन्सीबाहिर प्रहरी र गगन थापाका समर्थकले घेरा हालेर बसेका छन्।