भोजपुर । जिल्लाका ऐतिहासिक पर्यटकीय, धार्मिक गन्तव्यहरूको प्रवद्र्धन नहुँदा पर्यटकीय विकास हुन सकेको छैन । साल्पासिलिचुङ, मैयुङ हाँसपोखरी क्षेत्र, टेम्के–चखेवा भञ्ज्याङ, हतुवागढी दरबार क्षेत्र, दिंलाबजार, योगमायाको तपोभूमि मझुवाबेंसी, दुई सय वर्ष पुरानो टक्सारबजार, सिद्धकाली क्षेत्रलगायत जिल्लामा प्रसिद्ध छन् ।
सिलिचुङ, टेम्के, मैयुङबाट सगरमाथा, मकालु कञ्चनजंघालगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्त अझ मनमोहक देखिन्छन् । गुराँस फुल्ने समयमा ‘गुराँस क्लाइमेक्स’ मा रमाउन, हरियालीको समयमा फाटिला चौरसँग आनन्द लिन उत्तिकै आनन्द आउँछ । ‘‘हाइकिङ’ र ‘ट्राभलिङ’ मा रमाउन चाहनेलाई गन्तव्यको खाँचो छैन तर प्रचारप्रसार छैन, राज्यले बेवास्ता गरेको छ,’ टेम्के–चखेवा भञ्ज्याङ क्षेत्रमा होटल चलाउँदै आएकी मायादेवी राईले भनिन् । बाह्य पर्यटक रमाउन सक्ने गन्तव्य भए पनि व्यवस्थापन नहुँदा आउँदैनन् । घुमफिरको मौसममा सीमित आन्तरिक पर्यटकले व्यवसाय धान्दै आएको छ ।
पर्यटकीय गन्तव्यहरूको तुलनामा बाह्य पर्यटक भित्र्याउन नसक्दा स्थानीय अर्थतन्त्रमा प्रगति हुन नसकेको दिंलाबजारका तोयानाथ गौतमले बताए । दिंलाबजार वि।सं। १९३२ को दशकमा बालागुरु षडानन्द अधिकारी नेतृत्वमा बिस्तार भएको ऐतिहासिक, धार्मिक, शैक्षिक गन्तव्य हो । ‘इतिहास चिनाउने पर्यटन विकासका कुरा त कहाँ हो कहाँ, उनका पालामा बनेका धार्मिक, पुरातात्त्विक सम्पदा जोगाउनसमेत सरकारले चासो दिएको छैन ।’
प्रवद्र्धनका लागि पूर्वाधारको अभाव छ । पदमार्ग, होटलबास, सुरक्षा व्यवस्था छैन । यसकारण आएका पर्यटकलाई खाने, बस्ने व्यवस्था नभएका कारण सौन्दर्यको धनी भए पनि घुमफिरमा आउनेलाई निकै समस्या हुने गरेको इटहरीबाट आइरहने पथप्रदर्शक मनोज श्रेष्ठले बताए । उनले केही समयअघि ५ अमेरिकी नागरिकलाई लिएर आइपुगेका थिए । उनीहरूले यहाँको भौगोलिक विविधता, हावापानी र वातावरण मन पराए पनि व्यवस्थापन कमजोरी भएको प्रतिक्रिया दिएको श्रेष्ठले जनाए ।
उनी यसअघि विभिन्न वर्षमा ३ पटक भोजपुर छिरेका छन् । ‘यहाँका प्रायः पर्यटकीय गन्तव्यस्थल पुगेको छु तर गाँस, बास, कपास र यातायातको व्यवस्थापन छैन,’ उनले भने, ‘पर्यटक आएर रमाउन चाहन्छन्, ती स्थलमा पुर्याउनै मुस्किल पर्छ ।’ पर्यटकीय महत्त्व बोकेका स्थलसम्म पहुँच पुग्ने गरी सुविधा दिनसके पर्यटन व्यवसाय राम्रो उनले उनी बताउँछन् ।
साविक जिविसले सम्भाव्यता अध्ययन गरी गुरुयोजना बनाउने कोसिस गरेको थियो । योजना शाखा अधिकृत शालिकराम लुइँटेलका अनुसार आव ०७३र७४ मा जिल्लाभरका पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि ६३ लाख ५५ हजार खर्च भएको थियो । संघीय संरचनाअनुसार जिसस कायम भएपछि विकासका कुरामा सरोकार नरहने स्थानीय विकास अधिकारी कृष्ण धितालले बताए । कान्तिपुर