भोजपुर । भोजपुरको प्रदेशसभा ख मा एमालेका शेरधन राई विजयी भएको छ । वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकाले २० हजार ३ सय ३४ मत प्राप्त गरेको छ ।
राईका निकटतम प्रतिद्वन्दि काँग्रेसका गोविन्दकुमार कार्कीले ७ हजार १ सय ५ मत प्राप्त गरे । राई बिचको मतान्तर १३ हजार २ सय २९ हो । शेरधन यसअघि २ पटक भोजपुरबाट विजयी भएको थियो । जिल्ला निर्वाचन कार्यालयले यसको आधिकारिक घोषणा भने गर्न बाँकी छ । प्रदेश नम्बर १ को मुख्यमन्त्रीको दाबेदारका रुपमा पनि हेरिएको छ ।
को हुन् शेरधन राई !
२०३१ सालमा भोजपुरको थिदिंखामा जन्मिएका राईले समाजशास्त्र विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरे । यसअघि २ पटक भोजपुर २ बाट सांसद निर्वाचित भइसकेका राई यसपटक प्रदेश सभाको उम्मेदवार बनेका थिए । २०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राई अहिले एमालेको १ नम्बर प्रदेश सहसंयोजक हुन् ।
२०४४ सालदेखि अनेरास्ववियूमार्फत क्रियाशिल भएर भोजपुर जिल्ला कमिटी अध्यक्ष र २ कार्यकाल अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य बनेका राई २०५०–२०५४ सम्म अनेरास्ववियूको पूर्वाञ्चल प्रमुख बने।
राई नेकपा एमाले भोजपुरको प्रमुख पदमा ४ कार्यकाल निर्विरोध निर्वाचित भएका थिए । राईले २०४४ देखि २०४६ चैत २६ गतेसम्म भूमिगत जीवन पनि बिताएका थिए । अविवाहित राई हुन भने केपी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चारमन्त्री समेत बनेका छन् ।