भोजपुरमा विजयी उम्मेदवार विजय जुलुसमा, हारेका कांग्रेस नेता चुनावी पोस्टर उक्काउँदै

काठमाडौं । नेपालमा लोकतान्त्रिक संस्कार र पद्धति दिनानुदिन संस्थागत हुँदै गएको छ । यसपटकको निर्वाचनमा कांग्रेसले ‘अस्वाभाविक हार’ बेहोर्नुपर्‍यो ।

तर पनि कांग्रेस नेताहरूले विजयी बनेका एमाले र माओवादी उम्मेदवारलाई बधाई दिँदै खुसी साटासाट गरे । विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, रामहरि खतिवडालगायत कांग्रेस नेताहरूले विपक्षी पार्टीका उम्मेदवारलाई जितेकामा मतगणनास्थलमै बधाई दिए । तर, कम्युनिस्ट उम्मेदवारमा भने त्यो संस्कार देखिएन । कुनै पनि एमाले र माओवादी नेताले कांग्रेस नेतालाई जितेकोमा बधाई दिन सकेनन् ।

यसै क्रममा कांग्रेसका अर्का नेता उमेशजंग रायमाझीले उदाहरणीय काम गरिरहेका छन् । उनी भोजपुरको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका सुदन किराँतीसँग पराजित हुन पुगे । आफू पराजित भए पनि निर्वाचन प्रचार प्रसारका क्रममा प्रयोग गरिएका चुनावी पोस्टर आफैंले हटाउन थालेका छन् ।

उनी घरका भित्ता, विजुलीका पोल, खम्बालगायतका ठाउँमा टाँसिएका पोस्टर उक्काउँदै हिँडेका छन् । चुनावका बेला टाँसिएका पोस्टर चुनावपछि नउक्काउँदा बजार क्षेत्र कुरुप भएको भन्दै ती सबै हटाउने अभियानमा लागेको उनको भनाइ छ ।

प्रतिनिधिसभामा माओवादी केन्द्रका सुदन किराती, प्रदेशसभा ९क० मा एमालेका राजेन्द्र राई र (ख) मा एमालेकै शेरधन राई विजयी भएका थिए । विजयी उम्मेदवारहरु विजयी उत्सव मनाउन उत्तर दक्षिण धाइरहेका छन् । प्रत्यक्षतर्फ विजयी भएका उम्मेदवारहरु अहिले खुसी साटिरहेका छन् ।

कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ भोजपुर बहुमुखी क्याम्पस एकाइ समितिको सहयोगमा उनले बुधबार पोस्टर संकलन तथा सरसफाइ कार्यक्रम गरेका हुन् । लोकतन्त्रको सुन्दरताका रुपमा रहेको आवधिक निर्वाचनमा हार जित सामान्य भएको भन्दै रायामाझीले जिल्लाको विकास निर्माणमा सबै एक भएर लाग्नुपर्ने बताउँछन् ।