युएई । एक सरो हरियो कुर्ता सुरुवाल । कुर्ता बाहिर पट्टी खाडीको सामान्य चिसो छेक्ने स्वीटर । दुई हातमा तीन वटा रातो छिर्के चुरा । खुट्टामा जालीवाला चप्पल । तीन दिनको अनिदोले अनुहार, ओठ मुखमा कुनै चमक थिएन । तनावमा परेकोले निधार खुम्च्याउँदा परेका छालाका मुज्जा सजिलै देखिन्थे ।
आइतबार नेपाली दूतावास आबुधाबीले विमानस्थलबाट उद्धार गरेपछि दूतावासको सेल्टरमा पुगेकी दुई सन्तानकी आमा झापाको धरमपुर मंगलबारे ३ की सिता हेमरमका आँखा रसाएका थिए ।
झापाबाट हिंडेको चारदिनपछि उहाँ आइतबार मात्रै दूतावासको शरणमा आइपुग्नु भएको हो । उहाँसँगै हुनुहुन्छ देवी विश्वकर्मा । उमेरले भर्खर २१ पुगेकी देवी आफ्नो विवरण आफैंले भर्न नसकेपछि उहाँलाई सहयोग गर्दै थिए दूतावासका कर्माचारी । उहाँहरुलाई गाउँकै दलाल ओजमान लिम्बूले कुवेत पठाउने भन्दै भारतको बाटो हुँदै युएई पुर्याएका हुन ।
उहाँहरुलाई धरमपुरबाट हिँडेपछि झिलझिले हुँदै किसानगन्ज पु¥याएको र त्यहाँबाट दिल्ली पु¥याएका थिए । दिल्लीबाट उहाँहरु युएई आइपुग्नुभएको हो । ‘कुवेत पठाउने भनेपनि इराक र सिरिया पठाउने दलालको योजना रहेछ,’ देवीलाई दूतावासमा आएपछि नयाँ जुनी पाए झैं लागेको छ ।
देवी घरमा पनि बल्ल बाँचे भन्दै फोनमा रोइरहनु भएको थियो । साढे दुई वर्षकी जेठी र काखकी १४ महिने दुधे छोरी छोडेर पैसा कमाउन देवी विदेश लाग्नुभएको हो । उहाँका श्रीमान् गाउँमै मिस्त्रीको काम गर्नुहुन्छ ।
श्रीमानले सौतेनी टिपेर गाउँ छोडेपछि ४० वर्षकी सिताको काँधमा दुई सन्तानको जिम्मेवारी थपियो । गाउँमै काम गरेर दुई सन्तान पाल्ने आँट जुटाउन नसकेकी सितालाई दलालले कुवेतमा कमाइ हुने प्रलोभनमा विदेश पठाएका थिए ।
ठाउँठाउँमा नयाँ नयाँ दलालसँग भेट्दै उहाँहरु आइतबार राती १२ बजे आबुधाबी विमानस्थलमा आउनु भएको हो । विमानस्थलमा लिन आउने भनेको मानिस नआएपछि रातभरी चिसो भुईंमा कुर्नुभयो ।
विहान ९ बजेसम्म पनि लिन आउने मानिस सम्पर्कमा नआएपछि छट्पटिएका उहाँहरुलाई विमानस्थलमै कार्यरत एक जना नेपालीले भेट्टाएका थिए । उनैले नेपाली दूतावासमा देवी र सिताको बारेमा बताएपछि उहाँहरुको उद्धार भएको हो ।
जानकारी पाएको २ घण्टामा उद्धार गरेर दूतावासले सिता र देवीलाई अहिले सुरक्षित आवासगृहमा राखिएको छ । ‘हामी दिल्लीमा १३ जना थियांै । एउटै कोठामा हो बस्ने,’ सिता भन्नुहुन्छ, ‘धेरैलाई त त्यहीबाट बेच्दा रैछन धन्न हामी त बाँच्यौ ।’
सिता र देवीलाई भिजिट भिसामा युएई ल्याइएको हो । कुवेतमा घरको काम भने पनि उहाँहरु आबुधाबीमै अलपत्र परेपछी अब नेपाल फर्किने र कहिल्यै विदेश नर्फने बताउनुहुन्छ ।
दूतावासको सेल्टरमा ५ जना महिला
दूतावासले शुक्रबार मात्रै ५ जना महिलाको उछार गरेको छ । एनआरएन युएईले अजमानबाट उद्धार गरेर ल्याएका ८ जना मध्ये ५ जनालाई शुक्रबार नेपाल पठाइएको हो ।
आइतबार दुई जना थपिएपछि ५ जना महिला दूतावासको सेल्टरमा छन् । दूतावासले अलपत्र परेका महिलाको उद्धारका क्रममा उनीहरुलाई ल्याउने एजेन्ट र तस्करी गर्ने गिरोहलाई कारवाही गर्न पटक पटक सिफारिस पत्र पठाउने गरेको छ ।
तर अहिलेसम्म मानव तस्करी गर्ने गिरोहलाई कारवाही भने भएको छैन । वैधानिक बाटो सहज नहुँदा अवैध रुपमा ल्याउने क्रम बढिरहेको छ । उज्यालो अनलाइन