काठमाण्डौ । नेकपा माओवादी केन्द्रले वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रपति उम्मेदवार बनाउने लगभग पक्कापक्की भएको छ ।
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने पक्का भएपछि माओवादीका भागमा राष्ट्रपति र सभामुखको भाग परेको हो । सभामुखमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, अग्नि सापकोटा, हरिबोल गजुरेल र निवर्तमान सभामुख ओनसरी घर्तीमगर लगायतको दाबी रहेको छ भने बादल माओवादीभित्र राष्ट्रपतिका एक्ला उम्मेदवार हुन् ।
बाम गठबन्धनको बहुमत आएसँगै भागबण्डामा माओवादीले राष्ट्रपति पाउने भएको छ त्यसैले बादलको नाम अघि सारिएको हो । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समेत बादलको नाममा सहमत देखिएका छन् ।
यता एमाले वरिष्ठ नेता झलनाथ खनालले भने आफैं राष्ट्रपति हुन चाहेका छन् ।
‘कमरेड बादललाई राष्ट्रपतिको उम्मेदवार बनाउने करिब पक्का भएको छ’, माओवादीका एक कार्यालय सदस्यले भने, ‘एमाले पनि उहाँको नाममा सहमत छ ।’ अर्का एक नेताले भने पार्टी नेतृत्वले बादललाई राष्ट्रपतिमा अघि सार्न खोजेको छ तर स्वयं बादलले भने राष्ट्रपति बन्न अस्वीकार गरेका छन् भनेर दाबी गरे ।
यसअघि राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यकाल दोहोरिन चाहेको समाचारहरु आएका थिए । त्यसका लागि राष्ट्रपति–उपराष्ट्रपति दुवैले आ–आफ्ना पूर्वपार्टीमा लविङसमेत गरिरहेका छन् ।