क्षेत्रिय हुलाकका कर्मचारी २३ दिनदेखि बेपत्ता, खोजबिनका लागि सहयोग गर्न श्रीमतिको आग्रह

विराटनगर । विगत २३ दिनदेखि बेपत्ता भएका क्षेत्रीय हुलाक कार्यालय विराटनगरमा कार्यरत कर्मचारी कुलबहादुर थापालाई खोजबिन गरिदिन हुन सम्बन्धित निकायलाई श्रीमतिले आग्रह गरेकी छन् ।

थापाकी श्रीमती रेवतकुमारी अधिकारी (थापा)ले आज पत्रकार सम्मेलन गरी कार्यालयको कामको सिलसिलामा यही मंसिर ६ गते उदयपुर र सप्तरी गएको थापा मंसिर ९ गते बिहानदेखि सुनसरीको भण्टाबारीबाट सम्पर्कविहीन हुनुभएको बताए ।

भण्टाबारीस्थित नारायणी लजमा मंसिर ८ गते बसेकामा ९ गते बिहान ७ बजेदेखि सम्र्पकविहीन भएको भन्दै उहाँले सोको जानकारी सुनसरी र मोरङ प्रहरीलाई गराएको तथा खोजबिनका लागि सम्बन्धित कार्यालयमा आग्रह गरेको भएपनि हालसम्म थाप फेला नपारेको बताए ।

श्रीमती थापाले सम्बन्धित कार्यालय र प्रहरीले खोजबिनमा तदारुकता नदेखाएको आरोपसमेत लगाए ।