मैले त सपनामा
एक पटक मात्रै भेटेको हुँ उसलाई !
।
हामी जीवनका जङ्गलहरूमा
पीडाका पर्वतहरूमा
दुःखका मरुभूमिहरूमा
सँगसँगै उडेका थियौँ— पुतलीजस्तै !
म लहरो बन्दा ऊ थाँक्रो बनेको थियो
म समुद्र बन्दा ऊ छाल बनेको थियो !
बिहान ब्युँझिदा
चिसो ओछ्यानमा म एक्लै थिएँ
पसिनाको आहालमा डुबेको थियो शरीर
श्वासको आँधी सुसाइरहेको थियो
मुटुमा भुइँचालो चलिरहेको थियो !
मैले त सपनामा मात्र
एक पटक भेटेको हुँ उसलाई !
तिम्री आमा जस्तै
म पनि अझै कुमारी छु— कुमारी !
जवाफ देऊ जिसस १
मेरो पेटमा कसरी रह्यो यो गर्भ ?