भोजपुर । रिमाचोङ एजुकेसन स्पोर्टस् एकेडेमीले प्रत्येक हप्ताको शनिबार विहान ‘भोजपुर रन’ सञ्चालन गर्छ । थुप्रै युवायुवतीहरु रनमा सहभागी हुन्छन् । भोजपुर टुडिखेलदेखि सुरु भएर पोखरे रोड – चारभञ्ज्याङ हुँदै पुनः टुडिखेलमै टुगिंन्छ दौड । लगभग ४.७७ किलोमिटरको दुरी छ ।
शरीरलाई स्वस्थ्य, तन्दुरुस्त, फुर्तिलो, तागतिलो बनाउन दौडले गर्दा भरपुर कसरत पुग्ने कारण सहभागी हुने गरेको स्थानीय युवा सुदर्शन राई बताउँछन् । उनी हरेक हप्ता दौडमा सहभागी हुन्छन् । शारीरिक तन्दुरुस्ती र वृत्तिविकासमा पनि दौडको सकरात्मक भुमिका हुन्छ । दौडदा सबै अंगप्रत्याङ चलायमान हुने र कसरत पुग्ने हुदा शरीरलाई एकदमै फाइदाजनक रहेको अर्का युवा मिङ्मा शेर्पाको भनाई छ ।
भोजपर रन मात्रै होइन जिल्लामा पछिल्लो समय दौडका प्रतिस्पर्धा गर्ने चलनै बसेको छ । गएको बैशाख महिनादेखि अहिलेसम्म दुईवटा प्रतिस्पर्धा भइसके । एउटा जिल्ला स्तरको स्काईरनिङ र अर्को राष्ट्रिय स्तरको भोजपुर ट्रेल रेस । दुवै खुल्ला प्रतिस्पर्धाका थिए । भोजपुर टुडिखेलदेखि सुरु भएर मैयुङ्गडाँडामा टुंगिएको ३० किमिको स्काईरनिङमा ९२ जना महिला–पुरुष सहभागी थिए ।
८० बढि सहभागीता युवा सर्कलकै थियो । केहि समयअघि अल्ट्राधाविका मीरा राईको जन्मगाउँ सानोदुम्मादेखि भोजपुर टुडिखेलमा टुगिंएको १८ किमिको भोजपुर ट्रेल रेसमा १ सय २० जना महिला पुरुष सहभागी थिए । यसमा पनि एक सय बढि युवा नै थिए । अन्य चाहि खुल्ला प्रतिस्पर्धा भएकाले किशोर किशोरी सर्कलका सहभागी थिए । प्रतिस्पर्धामा सहभागिताको संख्याले पनि दौडप्रति युवापुस्ताको चासो बढ्दै गएको सहजै अनुमान लगाउन सकिन्छ ।
भोजपुरमा यसप्रति युवापुस्ताको क्रेज बढ्नुको कारण शारिरीक तन्दुरुस्तीसंग मात्र जोडिएको छैन । विश्वचर्चित अल्ट्राधाविका मीरा राई यहिको माटोमा जन्मिएकी व्यक्तित्व हुन् । यसकारण साधारण दौड मात्र नभई प्रतिस्पर्धात्मक प्रतियोगिता आयोजना हुन थालेका छन् । सामान्य परिवारमा जन्मिएकी मीराको विश्वव्यापी जुन सफलता छ, यसले युवाहरुमा चासो र सहभागिता बढाएको छ । ‘मीरा दिदी जत्तिकै सफल त हुन नसकिएला तर प्रयास गर्दा असफल भन्ने हुँदैन, यसले गर्दा पनि दौडनुपर्छ भन्ने लागिरहन्छ,’ प्राय स् दौडमा सहभागिता भैरहने युवती सुनिता राईले भनिन् । उनले यसअघि ३० किमिको स्काईरनिङ ५ घण्टा १० मिनेटमा पार गरेर महिलातर्फ पहिलो स्थान हासिल गरेकी थिइन् । भोजपुर ट्रेल रेसमा महिलातर्फ तेस्रो भएकी थिइन् ।
कुनै दौड नछुटाउने प्रतिभा श्रेष्ठको पनि सुनिताको जस्तै बिचार छ । भोजपुर बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो बर्ष पढ्दै गरेकी उनी दौड भनेपछि हुरुक्कै हुन्छिन् । ‘रेस भनेपछि पढ्दा मरेको जाँगर पनि कहाँबाट आउछ –आउछ, अरु केहि चाहिंदैन दौडन पाए भने,’ उनले भनिन् । उनले भोजपुर ट्रेल रेस २ घण्टा ४७ मिनेटमा पार गर्दै दोस्रो स्थान हात पार्न सफल भएकी थिइन् ।
पहिलो प्युठानकी हुमी मगरले १ घण्टा ३५ मिनेटमा पार गरेकी थिइन् । पहिलो भएसंगै हुमीले आगामी जनवरीमा हङकङमा हुन लागेको रेसमा सहभागी हुने पाउने अवसर छ । यो अवसर मीरा र उनको टिमले मिलाइ दिएको हो । यसरी मीराको सफलता र उनले जुराइदिने गरेको अवसरले पनि युवायुवतीको झुकाब बढेको छ । ‘प्रतियोगिता र अवसरहरुले जोस पनि बढाइदिन्छ नि !, प्रतिस्पर्धात्मक भावना पनि बढ्दो रैछ,’ युवा रामबहादुर गुरुङ भन्छन् । उनले बैशाख महिनामा भएको ३० किमीको स्काइ रनिङ ३ घण्टा २२ मिनेटमा पार गरेर पुरुषतर्फ पहिलो भएका थिए ।
एकेडेमीले दौडसंगै फुटबल, भलिबललगायत खेलहरु आयोजना गर्छ । साथै संयोजन र समन्वय गर्दै आएको छ । उसले आफ्ना गतिविधिहरु थालेको ३ बर्ष हुँदैछ । राज्यले बेवास्ता गरेपनि पुराना खेलहरुको संरक्षण, युवा पुस्ताका प्रतिभा बाहिर ल्याउन र जल्दोबल्दो चर्चामा रहेकी मीराको विडो थाम्ने पुस्ता जन्माउने एकेडेमीको लक्ष्य रहेको अध्यक्ष पाविहाङ राई बताउँछन् ‘अवसर दिने र लगानी गर्न सक्ने हो भने मीराजस्ता खेलाडी थुप्रै जन्माउन सकिन्छ, राज्यले बेवास्ता गर्ने कारण स्थानीय तहबाट हामीले प्रयास थाल्नुपरेको हो,’ उनले भने, ‘र सम्पुर्ण खेलको पहिलो ‘एक्सरसाइज’ भनेकै रनिङ भएकाले यसमा ‘फोकस’ भएका हौ ।’ दौडमा युवापुस्ताको सहभागिता उल्लेखनीय पाइएको उनले बताए । कान्तिपुर