१३ औं सोनाम ल्होछार मनाउदै तामाङ समाज मलेसिया

मलेसिया । गत वर्षहरूमा झैं तामाङ समाज मलेसियाको आयोजनामा मञ्जुश्री सम्वत् २८५४ औं खिं/नागि (कुकुर वर्ग) सोनाम ल्होछार भव्यताका साथ मनाउने तयारी भएको छ । आगामी फेब्रुअरी महिनामा पर्ने चाइनिज न्यु एयरको अवसरमा मलेसियामा मलेसिया सरकारले लामो सार्वजनिक विदा दिने चलन छ ।

यहि सार्वजनिक विदाको अवसर पारेर मलेसियाको दुई मुख्य शहरहरुमा सोनाम ल्होछार विशेष सांगेतिक कार्यक्रम हुने भएको छ । “संसार भरि छरिएर बसेका तामाङहरु एक हौं , हाम्रो भाषा, धर्म, संस्कृति, भेषभुषा र रितिरिवाजलाई जगेर्ना गरौं” भन्ने नाराका साथ तामाङ समाज मलेसियाले हरेक साल कार्यक्रमको आयोजना गर्दै आएको छ ।

१३ औं पटक सोनाम ल्होछार विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको तामाङ समाज मलेसिया निरन्तर तामाङ जातीहरुको रितिरिवाज र परम्परागत चालचलनलाई जगेर्ना गर्ने हेतुका साथ संगठित भएर लागि परेका छन् । तामाङ जातिको मुख्य चाडमा पर्ने सोनाम ल्होछार हरेक वर्षको माघ शुक्ल प्रतिपदाका दिन नेपाल, चिन, भारत, मलेसिया, भुटान, सिङ्गापुर, भियतनाम, जापान, लाओस, म्यानमार, थाईल्याण्ड र मङ्गोलिया लगायतका देशहरूमा भव्यताका साथ मनाईन्छ । सोनाम ल्होछारलाई तामाङ जातिहरुले नववर्षको रुपमा मनाउने चलन छ । यो वर्ष भने चरा वर्गलाई बिदाइ गरेर कुकुर वर्गलाई भित्र्याउदै छन् ।

प्रवासमा रहेर संगठित भएका तामाङहरुले मलेसियामा आफ्नो भाषा, धर्म, लिपि, रितिरिवाज, र संस्कृतिको प्रबर्द्धन,उत्थान तथा संरक्षण गर्न प्रत्येक वर्ष सोनाम ल्होछार मनाउने गरेका छन् । तामाङ समाज मलेसियाको आयोजनामा यहि फ्रेबुअरी १६ तारिखका दिन गार्डेन होटेल बातुपाहात र १७ तारिखका दिन होटेल एरेना क्वालालम्पुरमा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । धार्मिक लामा गुरु द्वारा पुजापाठ सहित ल्होछार मनाउने तयारी भइरहेको आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारहरुको साथमा हुने भएको छ । उक्त कार्यक्रममा संगित क्षेत्रमा ३ ओटा बिधामा विश्व कृतिमान राख्न सफल संगीतकार तथा गायक टीका बोम्जन तामाङको समेत सहभागी हुनेछ । त्यसैगरी चर्चित म्हेन्दोमाया गायक सुमन घले तामाङ, गायिका जितु लोप्चन तामाङ र गायिका सुस्मिता स्याङतान तामाङ लगायत कलाकारहरुले मनोरञ्जन दिनेछन् । साथै १ दर्जनभन्दा बढि स्थानिय कलाकारहरुको पनि साङ्केतिक प्रस्तुति रहने जानकारी तामाङ समाज मलेसियाका महासचिव छेवाङ तामाङले दिनुभएको छ ।