तमु ल्होसार धुमधामका साथ मनाईदैं


भोजपुर ।
तमु भन्नाले गुरुङ समुदायलाई जनाउदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ जनाउदछ । शाब्दिक रुपमै प्रष्ट छ, तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो । यस विशेष दिनलाई हर्षका साथ आफ्नो पारम्परीक नयाँ वर्षलाई गुरुङ समुदायले स्वागत गर्दैछन । यो नयाँ वर्ष ‘खि ल्हो’ को तपाईं हामी सबैलाई शुभकामना ।
स्मरण रहोस् यो ल्होसार नेपाल मात्र नभई तिब्बत, भुटान , भारत , म्यानमार लगायत संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया , बेलायत अनि थुप्रै देशहरूमा भएका तमु समुदायले भब्यताको साथ मनाउने गर्दछन् । यस वर्ष वा नयाँ वर्षको सम्बतलाई तमु सम्वत पनि भनिन्छ ।

विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतीक स्वरुप रहने यस तमु वर्ष चराको वर्ष थियो भने यस वर्ष कुकुरको वर्ष अर्थात ‘खि ल्हो’ रहनेछ । यस अर्थमा तमु समुदायले सम्पूर्ण समय अर्थात ल्हो लाई १२ वटा भाग या भनौ जनावर वा कुकुरको आधारमा बाडेका छन । यस वर्ष भने कुकुरको शुभ वर्षले तमु संस्कारमा आफ्नो प्रभाव राख्नेछ ।

विशेषतः बुद्धिष्ट समुदायले वडो उत्साह र चाखकासाथ मनाउने यस पर्वबारे विभिन्न पुस्तक अनि एेतिहासिक दस्तावेजका अनुसार भगवान बुद्धको यस पृथ्वीमा भएको आगमन अगावै मनाईने गरिएको प्रमाण भेटाएका छन् । बुद्धको आगमन अगावै पनि यस समुदायका व्यक्तिहरु अनि मुख्यतः तिब्बत अथवा भोटका मान्छेहरुले सुगन्धीत अगरबत्ती/ धुप बालेर भगवानको अर्चना गर्दै मध्य हिउदमा यो पर्व अनि उपासना गर्ने गरेको तिब्बती मुलका विभिन्न पुस्तक र शोधहरुमा उल्लेखित छन । तमु समुदायका बारेमा लेखिएका पुस्तक अनि शोधहरुका अनुसार तमुका पुर्खाहरु छैठौ शब्तादीमा तिब्बतबाट नेपाल आएर मुख्यतया उच्च पहाडी भेगमा बस्ने समुदायका रुपमा चिनिन्छन । पहिले बोन अर्थात शामानिज्म धर्म अवलम्वन गरेका यी प्राचीन समुदायको सन् २००७ मा भएको जनगणना अनुसार अहिले अधिकांश संख्यामा बौद्धिष्ट र केही क्रिस्चियन अनि केही हिन्दुहरु रहेको तथ्यांक छ । संस्कार र सभ्यता अनि हिन्दु र बौद्ध संस्कारको अनुपम समिश्रण यो समुदायमा पाईन्छ ।

विश्व मान चित्रमै तमु समुदायले आफ्नो उच्च मनोबल , साहस, अट्टाहस, बहादुरी अनि बफादारीले एउटा कर्मठ सैनिक र गोर्खालीका रुपमा नेपालीको शिर सदैव उच्च राखेको छन । चाहे विश्व युद्ध होस् या आतङ्कवाद विरुद्धको कुनै लडाइ , चाहे अमेरिकी सैनिक हुन् या बेलायती , भारतीय या विभिन्न अरु देशका , तमु समुदायका युवाहरु अनि तिनका पहिचानको विश्वले कालखण्डमा गौरवशाली वृतान्त दिंदै आएको छ ।

मुख्यतया ल्होसारको वास्तविक मनाउने चलन र उमङ्ग १५ दिनसम्म रहने गर्दछ । आजबाट १५ दिन अर्थात नयाँ वर्षको शुरुका दिन १५ दिनहरु हर्षोल्लास अनि उत्साहकासाथ विताएमा सम्पूर्ण वर्षनै उत्साहपुर्ण र सुखद ब्यतित हुने मान्यता रहेको छ । नयाँ वर्ष प्रारम्भ हुने बित्तिकै अर्थात राती १२ बजे नै तमु समुदायहरु जङ्गल या सार्वजनिक स्थलमा गएर आगो बालेर , धनुकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन । पश्चिम तर्फ हानेको धनुकाँडले गएको ल्हो अर्थात वर्षको विदाई र पुर्वतर्फ हानेको धनुकाँडले भोलीपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात ल्हो को स्वागत गर्ने चलन छ । विहानपख नराम्रो ल्हो अर्थात वर्षहरुलाई आउन नदिन जन्तर बाध्ने र जङ्गलको रुखमा बाध्ने चलन छ ।

प्रथम दिनमा छांगकोल नामक पेय पदार्थ बनाएर ग्रहण गरिन्छ भने दोस्रो दिनलाई राजाको ल्होसारका रुपमा लिईन्छ र ल्होसारको मुख्य आकर्षण नै सामुहिक भेला , नाचगान, वर्षको सामुहिक समीक्षा तथा विमर्श आदि पर्दछ । विशेष परिकारहरुमा सेलरोटी , अचार , मासु , रक्सी अादि पर्दछन । बासको टोकरीमा राखेको सेलरोटी अनि तामा या पित्तलको भाडाँमा राखेको अचार, तरुल लगायत कन्दमुल अनि मासुको स्वादले नेपाली पनको अद्भुत आनन्द दिन्छ ।

काठमाडौंको टुडीखेलमा आज परम्परागत पहरिनमा तमु समुदायको व्यक्तिहरुलाई हर्षोल्लासपुर्णरुपमा उपस्थित भएको देख्न सकिन्छ । परम्परागत बाजागाजा , झाकी अनि पारम्पारिक पहिचानका खानपिनको झलकहरुले आज तमु संस्कृतिको एउटा सविस्तार परिचय समेटिएका गतिविधि नेपाल अनि विदेशका विभिन्न सार्वजनिक स्थलहरुमा रहेनछ ।

“पे म्ह्स्या, छ्या म्हमु,छ्या म्हस्या ल्हु म्ह्मु, ल्हु मह्स्या म्हि म्हमु” शास्त्र हराए संस्कृति हराँउछ , संस्कृति हराए परम्परा हराँउछ अनि परम्परा हराए मान्छे नै हराँउछ ।

यसरी शुरु हुने नयाँ वर्षको हरेक पलहरु शुद्द र धार्मिक हुने जनविश्वास छ । विभिन्न मन्त्रहरु लेखिएका अनि विभिन्न रंगका तोरण , झण्डाहरु घर, डाडाँ या बौद्ध विहारमा झुण्डाएको हामीमध्ये सबैले देखेको छौ । आज यसरी झुण्याईने यस्ता झण्डा अनि त्यसमा कुदिएका मन्त्रहरु लगायत ती झण्डालाई फर्रर हल्लाउने वतासहरुले हामी सबैको वर्षभरि कल्याण गरुन ।