दिपाश्री निरौला भन्छिन् काठमाडौंमा रुँदै रुँदै हिडेकी छु

काठमाडौं। हास्य कलाकारका रूपमा ख्याति कमाएकी दीपाश्री निरौलाले हरेक विधामा आफूलाई उत्कृष्ट सावित गर्दै आएकी छिन् । तीतो सत्य टेलिसिरयल बन्द गरी निर्देशनमा डेब्यु गरेको दीपाको चलचित्र ‘छक्का पन्जा’ ले अहिले सफलताका थुप्रै रेकर्ड ब्रेक गरिरहेको छ । दीपाश्रीले निर्देशन गरेको चलचित्रलाई दर्शकहरूबाट रुचाइएपछि अहिले उनको चर्चा बढेको छ ।

दीपाश्री भिडियो फिल्म जमानाकी चर्चित नायिका पनि हुन् । उनले संगिनी, सहनाई रोइरहेछ आदि थुप्रै भिडियो फिल्ममा अभिनय गरेकी छिन् । ‘एउटा मात्र विधामा काम गरेर जीविकोपार्जन गर्न निकै गाह्रो छ, दीपाश्री भन्छिन्, ‘मैले नायिका मात्र हुन्छु भनेको भए उहिल्यै ‘फेजआउट’ हुने थिएँ । त्यसैले मैले सुरुदेखि नै अभिनयका साथै निर्देशनमा समेत ध्यान लगाएँ । समयअनुसार हास्यअभिनयलाई निरन्तरता दिएँ, जसका कारण मैले फुर्सदमा बस्नुपरेको छैन ।’ विराटनगर आएका बेला दीपाश्रीले आफ्ना सेक्रेट कुरा साप्ताहिकमार्फत यसरी सार्वजनिक गरिन् ।

आरजे
अभिनयसँगै मैले आरजेको भुमिका समेत निर्वाह गरेकी थिएँ । मैले रेडियो नेपालमा दीपकसँग ‘रामविलास धनियाँ’ कार्यक्रम सञ्चालन गर्दै आएकी थिएँ । त्यसमा मैले धनियाँको भूमिका निर्वाह गरे । आफू तराई मूलकी भएकीले मैले धनियाँको भूमिकामा सहज रूपमा कार्यक्रम सञ्चालन गरेकी थिएँ । उक्त कार्यक्रममा दीपक र मलाई श्रोताहरूले औधी रुचाउनुभयो । मेरा लागि रामविलास धनियाँ कार्यक्रम कलाकारिता क्षेत्रमा ट्रर्निङ प्वाइन्ट बन्यो ।

डान्स
म सानैदेखि नृत्यमा रुचि राख्थें । स्कुल अध्ययन गर्दैदेखि विभिन्न प्रतियोगितामा भाग लिन्थें । स्कुल बंक गरेर साथीहरूसँग डान्स कार्यक्रम सहभागी हुन्थेँ ।

रुँदै दिन काटे
कलाकारिता क्षेत्रमा संघर्ष गर्ने क्रममा पैसा नभएर एक साल बुवाको हातको टीका लगाउनबाट वञ्चित हुनपर्‍यो । दसैंका बेला काठमाडौंबाट विराटनगर घर जाने गाडी भाडा नहुँदा २०५० सालको दसैं काठमाडाैंमा रुँदै काट्नुपरेको थियो । उक्त कुरा सुनेर बुवाले धेरै मन दुखाउनुभयो । त्यसपछिको दसैंमा नियमित रूपमा बुवाको हातको दसैंको टीका साइतमै लगाउँदै आएकी छु । दसैंको अवसरमा विदेशमा हुने कार्यक्रमहरू छाडेर पनि बुवाको हातको टीका लगाउने गरेकी छु ।

छठमा व्रत
म तराई मूलकी छोरी भएकीले प्रत्येक वर्ष छठमा व्रत बस्छु । छठ पर्व आउने दुई दिनअघिदेखि चोखो मनले व्रत लिन्छु । छठ मनाउन म प्रत्येक वर्ष विराटनगरको सिंघिया खोला पुग्छु ।

रिस
मलाई चिन्ने अधिकांशले कति हँसिली भनेर प्रशंसा गर्नुहुन्छ । म प्राय: हाँसी नै रहेकी हुन्छु । धेरैलाई थाहा नभएको एउटा गोप्य कुराचाहिँ के छ भने म जति हँसिली छु, त्यति नै रिसाहा पनि छु । मलाई हत्तपत्त रिस उठ्दैन, रिस उठिहाल्यो भने पनि तुरुन्तै शान्त हुन्छु । रिस उठेका बेला म प्राय: कसैसँग बोल्दिनँ तर मसँग रिसाएर गएको मान्छे पुन मसँग बोल्न आयो भनेचाहिँ तुरुन्तै फक्किन्छु ।
(साप्ताहिक)