संखुवासभा । प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेद्वार बनेका उम्मेद्वार मध्ये संखवासभामा अहिलेसम्म दई जनाले मात्रै चुनावी खर्च विवरण पेश गरेका छन् । गएको मंसिर १० गते सम्पन्न चुनावबाट निर्वाचित भएका दुईजना सांसदले मात्रै चुनावी खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ ।
निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा भित्र रहेर संखुवासभाका उम्मेदवारले खर्च गरेको देखिएको छ । आयोगले निर्धारण गरे अनुसार प्रतिनिधिसभाका उम्मेदवारलाई अधिकतम २५ लाख र प्रदेशसभाका उम्मेदवारलाई अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा तोकिएको थियो ।
निर्वाचन कार्यालयमा पेश गरेको खर्च विवरण अनुसार वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेर विजय हासिल गरेका नेकपा एमालेका राजेन्द्र गौतमले २३ लाख खर्च गरेको पाइएको छ ।
वाम गठबन्धनबाटै प्रदेशसभा ख मा उम्मेदवार बनेर बिजयी भएका नेकपा एमालेका तुलसी न्यौपानेले १३ लाख २० हजार खर्च भएको विवरण पेश गरेका छन । प्रतिनिधि तथा प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
उम्मेदवारहरूले बुझाएका चुनावी खर्चमा सबैभन्दा धेरै गोष्ठी, अन्तक्र्रिया, सवारी साधन र प्रचारप्रसारमा खर्चको विवरण प्रस्तुत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
संखुवासभामा प्रतिनिधिसभा तथा प्रदेशसभामा गरी २८ जना उम्मेदवारले चुनावमा भाग लिएका थिए । चुनावको परिणाम सार्वजनिक भएको समयले ३५ दिन भित्र खर्च विवरण बुझाइसक्नुपर्ने नियम रहेको निर्वाचन आयोगले जनाएको छ । अझै २६ जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी रहेको छ