संखुवासभा । चिसो बढेपछि पूर्बी पहाडी जिल्ला संखुवासभाको भोटखोलाबासीहरु औल झर्न थालेका छन । जिल्लाको उत्तरी विकट क्षेत्र भनेर चिनिने भोटखोला गाउपालिका अन्तर्गत मकालु, सेदुवा, हुङहुङ, हटिया, चेपुवा, च्याम्ताङ्ग र किमाथाङ्काका मानिसहरु वर्षेनी औल झर्ने गर्दछन ।
चिसो छल्नका लागी सपरिवार नै तराई क्षेत्र झर्ने उनीहरुको परम्परागत चलन नै हो । यसरी हिउँदमा घर छोडेर औल झर्ने परम्परागत चलनलाई ‘कबिला’ झर्नु भनिन्छ । ति क्षेत्रका मानिसहरु तीन÷चार महिना हिउँदको समयमा तराई क्षेत्र तिर घुमफिर गरि जिवननिर्वाह गर्छन । बिशेष गरि पुस देखी बैशाख सम्म बाहिर नै घुमफिर गर्छन ।
जेठ पहिलो हप्ता तिर मात्रै घर फर्किछन । त्यो समयमा गाऊँमा बर्खाको लागी दाउरा काट्नु पर्ने र कोदोको बिऊ राख्ने समय भएकाले गाऊँ फर्किने गरेको हटियाका पासाङ्ग भोटेले बताए । ‘चिसोबाट जोगिनुको साथै गाऊँघरमा आम्दानी कमी हुन्छ, त्यसैले हिउँदभरि बाहिर–बाहिर नै घुमफिर गरेर जीवन पाल्छौ र आफुले उत्पादन गरेको अन्नपातले बर्खामा खानु पर्छ ।’–उनले भने ।
हिउँदभरि घुमफिर गरेर घर फर्किदा बर्खाको लागि चाहिने अन्नापात, नुनतेल र लत्ताकपडा लगायतका आवश्यक घरायसी सामानहरु समेत ब्यबस्था गरेर फर्किने गर्दछन । जिल्लाको विकट कर्णाली क्षेत्र भनेर चिनिने उत्तरी भोटखोला क्षेत्रका मानिसहरु हिउँद लागेपछि बर्से्नि तराई झर्ने गर्दछन । प्रायः जसो उत्तरी क्षेत्रका मानिसहरु चिसोको कारण बर्से्नि न्यानोको खोजी गर्दै कबिला झर्ने गरेका हुन ।
हिमाली भेगमा बस्ने भोटे, शेर्पा, तामाङ र गुरुङ समुदायका मानिसहरु चिसो छल्नको साथै कबिला झरेर विभिन्न जडिबुटीको समेत ब्यापार गर्ने गर्दछन । सदरमुकाम खाँदबारीबाट चार÷पाँच दिनको पैदल यात्रामा पुगिने हिमाली भेगका बासिन्दाहरु चिसोबाट बच्न बर्से्नि कबिला झर्न बाध्य छन ।
कबिला झर्नुको अर्को उद्धेश्य भनेको अन्नपातको बचावाट समेत हो । घरमा ताला चाबी लगाएर पशुचौपयाहरु जङ्गलमा नै छाडा छोडी कबिला झर्ने गरेको चेपुवा–१ का पिम्बिन लामाले बताए । ‘आफ्नो जग्गाबारीमा उत्पादन भएको अन्नबालीले बर्ष्दिन खान पुग्दैन, त्यसकारण पनि हिउँदमा त संसार चाहानैपर्छ । त्यसैले पुस, माघको मुटु नै छेड्ने जाडोबाट बाँच्नकै लागी भएपनि हामी न्यानो ठाऊ तिर झर्ने गछौ, पुस झरेर छिटोमा चैत्र अन्तिम साता तिर फर्कन्छौ, खान लाउनको समस्या भन्दा पनि जाडोबाट बाँच्नु कबिला झर्छौ ।’–लामाले भने । हिउँदको मुटु छेड्ने जाडोबाट जोगिन र घरमा भएका अन्नपानीको बचत गर्नु पनि हो । साथै कबिला झर्ने परम्परा अब नयाँ ठाऊको घुमघामको उद्धेश्य पनि बन्न थालेको छ ।
घरमा हिड्न नसक्ने बुढाबुढीहरुलाई अन्नपात र खाद्यान्यको बन्दोबस्त गरेर घरमा छोड्न गरेको स्थानीय लामाले बताए । ‘बाहिर अत्यधिक चिसो हुने भएकोले घर भित्र नै सबै कुरा बन्दोबस्त गरेर हिड्छौ ।’–उनले थपे ।
कबिला झरेका मानिसहरु सदरमुकाम खाँदबारी आसपासका क्षेत्र मत्स्यपोखरी, सेकाहा, चिप्लेगाऊ, माल्टा, आङ्ला र गुवाबारी लगायत हुदै धरान, काठमाडौ देखि भारतको दार्जि्लिङ्ग, सिक्किम र कालीबम्म सम्मको यात्रा हुने गर्दछ । उक्त हिमाली भेगमा बिशेष गरी आलु, कोदो, मकै, जौ,फापर मात्र उत्पादन हुने गर्दछ । यो क्षेत्रमा धान उत्पादन हुदैन ।