यो अँध्यारो बन्दीगृह जस्तो
साँघुरो कोठा
तिम्री आमाको गर्भाशय हो !
.
अब यहाँ तिमी
नौ महिनासम्म एक्लै बस !
नौ महिना बितेपछि
तिमी आऊ यो धरतीमा !
पातालभित्रबाट रुँदै रुँदै आऊ !
हामी तिम्रो स्वागतका लागि
हाँस्दै पर्खिरहनेछौँ बाहिर !
.
तिमी आएपछि—
थुप्रै मान्छेहरू भेटिनेछन् यहाँ !
तर उनीहरूले तिमीलाई
केवल एउटा नाम दिनेछन् !
तिम्रो जात दिनेछन् !
तिम्रो लैङ्गिकता दिनेछन् !
तिम्रो धर्म र संस्कार दिनेछन् !
राजनीति दिनेछन् !
घृणा दिनेछन् !
अनि तिमीलाई आफूबाटै खोसेर
ससाना सिक्रीहरूले बाँधिदिनेछन् !
.
तिमी आएपछि—
तिम्रो संसार चिनाउन
तिम्रो पहिचान दिलाउन
तिमीलाई आफ्नै प्रियजनहरूले
कुनै निर्जन टापुमा लानेछन्
र साँघुरो पिंजरामा थुन्नेछन् !
त्यसपछि थोरै मान्छेहरू मात्र
बाँकी रहनेछन् तिमीसँग !
थोरै सम्भावनाहरू
र थोरै सपनाहरू बाँकी रहनेछन् !
तिमी रुँदै रुँदै आऊ
हामी हाँस्दै हाँस्दै पर्खिनेछौँ !!
.
तिमी आएपछि—
हुर्किन जान्नुपर्छ तिमीले
त्यसैले हुर्किंदा एक्लै नहुर्क !
हजुरबा हजुरआमासँग हुर्क !
बाबुआमासँग हुर्क !
कलिला भाइबहिनीहरू
आफ्ना समकालीन दौँतरीहरू
छिमेकी र आफन्तहरूसँग हुर्क !
सिलोक सुन्दै, बाख्रा चराउँदै
जीवनको भीरबाट लड्दै, बाँच्दै
फूल र काँडाहरू सँगसँगै हुर्क !
.
तिमी आएपछि—
त्यति चाँडै पनि नहुर्क !
बिस्तारै बिस्तारै हुर्क !
सपना देख्न समय लाग्छ !
यदि चाँडै हुर्कियौ भने
आफैलाई पनि चिन्ने छैनौ तिमीले !
र यदि एक्लै हुर्कियौ भने
आफ्नै दौँतरीहरूले पनि
चिन्ने छैनन् तिमीलाई !
आफ्नै घरले चिन्ने छैन !
.
नायकहरूसँग हुर्क !
गायकहरूसँग हुर्क !
तिमी बाँचेको
प्रमाणका लागि पनि
शत्रुहरूले चिमोट्नुपर्छ तिमीलाई !
आफ्नो समयका खुँखार
खलनायकहरूसँग हुर्क !
मान्छेहरू किन रोइरहेका छन्
दुनियाँलाई वरिपरि हेर्दै हुर्क !
तस्करहरू छन् वरिपरि
सपना बचाउन सिक्दै हुर्क !
.
अहिले त तिमी आएकै छैनौ
तिमी आएपछि थाहा पाउनेछौ—
यो धरतीमा
मान्छे भएर बाँच्नका लागि
मान्छेले कति पटक मर्नुपर्छ ?