भोजपुर- भोजपुरमा सम्पन्न अन्तराष्ट्रिय आमान्त्रित भोजपुर मेयर गोल्डकपको उपाधि गोर्खा व्वाइज रुपन्देहीले प्राप्त गरेको छ । गोर्खा व्वाइजले अफ्रिकन रुट्स क्यामरुनलाई १–०ले स्तव्ध पार्दै उपाधिसहित नगद ५ लाख प्राप्त गरेको हो । उपविजेताले अफ्रिकन रुट्सले ३ लाख रुपैयामा चित्त बुझाउनु पर्यो ।

खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि थपिएको अतिरिक्त समयमा गोर्खा ब्वाईजले गोल गर्न सफल भएको थियो । थपिएको पहिलो अतिरिक्त समयको छैठाँै मिनेटमा गोर्खा ब्वाईजका पेपेले गरेको गोल नै निर्णायक बनेपछि गोर्खा ब्वाईजको जित सुनिश्चित बनेको थियो ।

निकै प्रतिस्पर्धात्मक उक्त खेलमा दुवै टिम आक्रमक शैलीमा मैदान उत्रिएका थिए । सुन्दर अवसर पाएपनि दुवै टोलीबाट कुनै पनि प्रहार गोलमा परिणत हुन सकेन । निकै संघर्षरत बनेको अफ्रिकन रुट्सले थपिएको दोश्रो अतिरिक्त समयमा पनि गोल फर्काउन नसकेपछि अफ्रिकन टोलीले हार टार्न सकेन । म्यान अफ दि म्याच समेत बनेका पेपेले प्रतियोगिता अवधिभर राम्रो प्रदर्शन गरे ।

जिल्ला फुटबल संघ भोजपुरको आयोजना र भोजपुर नगरपालिकाको प्रायोजन रहेको उक्त प्रतियोगितामा स्थानिय टुडिखेलमा सञ्चालन भएको प्रतियोगितामा अन्तराष्ट्रिय टिम अफ्रिकन रुट्स क्यामरुन सहित विभिन्न जिल्लाका ८ वटा टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया