संखुवासभा- संखुवासभाको खाँदबारीमा एकै परिवारका ४ जनामा कोरोना संक्रमण देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको छ । संखुवासभामा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यको परिवारका ४ जनामा कोरोना संक्रमण देखिएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।

कोरोना पोजेटिभ देखिएपछि अध्यक्ष शाक्यको परिवारलाई सोमबार सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको हो । कोरोना पोजेटिभको लक्षण देखिएपछि उनीहरुलाई थप उपचारका लागि हेलिकप्टर चार्टर गरि काठमाडौं लगिएको आफन्तले बताएका छन् ।उनीहरुलाई हेलिकप्टर चार्टर गरि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । दोस्रो चरणको कोरोना संक्रमित गम्भीर प्रकृतिको समस्या भएको भन्दै जिल्ला अस्पताल खाँदबारीले उनीहरुलाई रिफर गरेको जनाएको छ ।

सदरमुकाम खाँदबारी –१ का शाक्यको परिवारमा कोरोनाको लक्षण देखिएपछि खाँदबारी जिल्ला अस्पतालमा एन्टिजेन जाँच गर्दा पोजेटिभ देखिएको थियो । जिल्ला अस्पताल खाँदबारीमा सोमबार ७ जनाको एन्टिजेन चेक गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

संक्रमितमध्ये एक जनामा भने स्वास प्रश्वासको समस्या देखिएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ । जिल्लामा हालसम्म २५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनीहरुको धरान, विराटनगर र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।

तपाईको प्रतिक्रिया