नेपालमा नयाँ कोरोना संक्रमितको दर दिनहुँ बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा देशभर ५७६३ जना नयाँ संक्रमित थपिएका छन्। जसमा पिसिआर परीक्षणबाट ५७०६ र एन्टिजेन परीक्षणबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १४ हजार ४०३ पिसिआर परीक्षण गरिएको छ । ५६६ को एन्टिजेन परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ३ लाख २८ हजार ८९३ जना पुगेको छ।

२४ घण्टामा १२८७ जना कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १९ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ३२९८ पुगेको छ।

तपाईको प्रतिक्रिया