षडानन्द नगरपालिकालाई युवा संघ नेपालको ध्यानकार्षण पत्र कोरोना रोकथामको लागि पहल गर्न अनुरोध


भोजपुर–षडानन्द नगरपालिकालाई युवा संघ नेपालले कोरोना रोकथामको लागि केहि नगरेको भन्दै ध्यानकार्षण पत्र बुझाएको छ । युवा संघ नेपाल षडानन्द नगर कमिटीका अध्यक्ष लेखनाथ श्रेष्ठले नगरपालिकाका मेयर विरबल राईलाई ध्यानकार्षण पत्र बुझाएको हो । पछिल्लो समयमा विश्व संगै नेपालको विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा नगरपालिका क्षेत्रभित्र कुनै पहल नभएको ध्यानकार्षण पत्रमा उल्लेख छ । पालिकामा बाहिरी जिल्लाबाट प्रवेश गर्ने नाका धेरै भएको कारण तत्काल नाका बन्द गर्नु पर्नेमा उनिहरुको माग रहेको छ ।

कोरोना रोकथामको लागि पालिकामा अक्सिजन सहितको कोभिड अस्पताल निर्माण, पालिकामा प्रवेश हुने नाकाहरु सिल गर्नु पर्ने साथै सचेतना मुलका कार्यक्रम नगरपालिकाले गर्नु पर्ने ध्यानकार्षण पत्रमा माग राखेका छन् ।

यता नगरपालिकाका मेयरले भने पालिकाले पहल गरिरहेको र तत्कालनै मागअनुसारको कार्यक्रम साथै थप कोरोना नियन्त्रणका लागि पालिकाले विभिन्न खालका पहल प्रयत्न गर्ने बताएका छन् ।

ध्यानकार्षण पत्र बुझाउन कार्यक्रममा युवा संघ नेपालका नगर कमिटी सदस्यहरु, वडा कमिटीका पदाधिकारी साथै सदस्यहरु र युवा संघ नेपालका जिल्ला कमिटी सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।