संखुवासभामा-बैकल्पिक शिक्षा “हाम्रो कक्षा” शुरु

संखुवासभा, १२ जेठ– कोभिड- १९ को दोस्रो भेरियन्टले समग्र देशको शैक्षिक अवस्था अस्तव्यस्त भई पठनपाठन बन्द भईरहेको अवस्थामा संखुवासभा जिल्लामा केहि फरक अभ्यास थालिएको छ | संखुवासभा जिल्लाका विभिन्न ७ ओटा नगरपालिका र गाउँपालिका अन्तर्गत रहने शिक्षा, विज्ञान तथा प्रविधि शाखाका प्रमुखहरुसंग विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ र यसले समग्र शिक्षा क्षेत्रमा परेको असरका बारेमा केहि दिन पहिले भर्चुअल छलफल तथा अन्तरक्रिया गरिएको थियो |

अहिलेको विषम परिस्थितिलाई लिएर समग्र राज्य ब्यबस्था नै अन्यवलताको स्थितिमा रहिरहेको र समग्र शिक्षा क्षेत्रलाई कसरी आगाडी बढाउने भनि यथोचित निर्णय दिन नसकिरहेको अवस्थामा यहाँका शिक्षाबिद् तथा सरोकारवाला निकायका प्रतिनिधिले भने बैकल्पिक सिकाइलाई अगाडी बढाउने सन्दर्भ प्रस्तुत गरेका थिए |

संखुवासभा जिल्लाको समग्र भौगोलिक बस्तुस्तिथि, प्राबिधिक कठिनाई साथै पहुँचलाई हेर्ने हो भने बैकल्पिक शिक्षाका रुपमा अहिलेको परिबेशमा चलेका अनलाईन र अन्य सिकाईका माध्यम यहाँका लागि पटक्कै सुहाउँदो बिषय नभएको निष्कर्ष निकाल्दै रेडियो कार्यक्रम मार्फत बालबालिकाको सिकाईलाई निरन्तरता दिन सकिने सुझाव आएको थियो | यसै सन्दर्भलाई मध्यनजर गर्दै, युनाइटेड वर्ल्ड स्कुल्स नेपालले बालबालकिाको शिक्षालाई निरन्तरता दिइरहनको लागी धर्मदेवी नगरपालिका सँगको साझेदारीमा रेडियो शैक्षिक कार्यक्रम “हाम्रो कक्षा” आज जेठ १२ गते  देखि धर्मदेवी नगरपालिका बाट प्रसारण हुने नयाँ अभियान एफएम ९९ मेगाहर्ज बाट सुरु गरिएको छ । बिगत बर्षमा पनि कोरोना महामारीले समग्र विश्वलाई आक्रान्त बनाई शिक्षा, उद्योग, कलकारखाना, स्वास्थ्य र समग्र मानव जीवन संग सरोकार राख्ने कुराहरु प्रभावित भएका थिए |

सबैभन्दा बढी प्रभावित त शिक्षा नै भएको थियो र त्यसमा पनि विद्यालय उमेरका कलिला बालबालिका र उनीहरुको सिकाई, बालबालिकाको सिकाइलाई निरन्तरता दिन साथै उनीहरुको मानाशिकतामा कोरोनाको प्रभाव पर्न नदिन युडव्लुएस, नेपालले संखुवासभा र गुल्मी जिल्लाका स्थानीय निकाय सँगको सहकार्य र समन्वयमा विभिन्न १० ओटा स्थानीय एफ.एम स्टेसनबाट ३ चरणमा ८ महिना शैक्षिक रेडियो कार्यक्रम “हाम्रो कक्षा” निर्माण र प्रशारण गरेको थियो | 

रेडियो कार्यक्रमबाट प्रत्यक्ष रुपमा २२ हजार बालबालिका लाभान्वित भएका थिए | यस बर्ष प्रशारण हुने कार्यक्रम हरेक दिन सोमबार देखी शनिबार बिहान ७:३० बजे देखी ८:०० बजे सम्म र बेलुकी ५:३० बजे देखि ६:०० बजे सम्म दैनिक १ घण्टा प्रशारण हुनेछ भने आइतबार बिहान ९:१५ बजे देखि ९:४५ बजे सम्म आधा घण्टा सम्म प्राशारण हुने युनाईटेड वर्ल्ड स्कुल्स नेपालका एजुकेशन कोअर्डिनटर आशिष अधिकारीले जानकारी दिनुभयो | यसै सन्दर्भलाई उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिले विद्यार्थीको बार्षिक परिक्षाको नतिजा प्रकाशन भई नसकेको र उनीहरुलाई कक्षागत विषयको आधारमा पढाउन तत्काल उचित नहुने हुनाले हामीले विभिन्न संघ संस्थाले प्रकाशन गरेका बालामैत्री, ज्ञानबर्द्धक र रोचक कथाहरुलाई प्रशारण गरिरहेका छौं |

सम्भवत जेठ महिना भित्रमा शिक्षा मन्त्रालयको निर्देशन र स्थानीय निकायको निर्णयले बार्षिक नतिजाको टुंगो लागिसक्नेछ | यदि त्यस्तो भएको खण्डमा भने असार महिना देखि कक्षागत र विषयगत रुपमा रेडियो कार्यक्रमका कक्षाहरु संचालन गर्ने प्राबिधिक तथा समन्वयात्मक तयारि गरिरहेका छौं |” देशको शैक्षिक परिवेशलाई मध्यनजर गर्दै भौगोलिक र प्राबिधिक रुपमा पछाडी परेका ठाउँहरुलाई र सबै बालबालिकाको पहुँचमा हुने रेडियो मार्फत कार्यक्रम संचालन गर्नु अत्यन्तै सह्रानिय काम भएको जनजागरण आधारभूत विद्यालयकी शिक्षक सुमुना खड्काले बताउनु भयो | उहाँले थप्नुभयो, “यो कार्यक्रमले घरैमा बसेर समय व्यतित गरिरहेका बालबालिकालाई केहि सिक्ने अवसर मिलेको छ |”

युनाईटेड वर्ल्ड स्कुल्स नेपाल र धर्मदेवी नगरपालिकाको समन्वयमा भएको यो कार्य एउटा प्रतिनिधि उदाहरण हो | परिस्थिति र परिवेश साथै भौगोलिक जटिलतालाई समेत सुहाउने यस्तो किसिमको प्रयासले अरु जिल्ला र स्थानीय निकाय साथै शिक्षा क्षेत्रमा काम गर्ने संघ संस्थालाई समेत अगाडी बढ्ने प्रेरणा मिलेको छ | सबै जना हातमा हात र काँधमा काँध गरेर अगाडी बढियो भने मात्र हामी सहज रुपमा यस्ता किसिमका समस्यालाई सामाना गर्न र पार लगाउन सक्छौं |


युनाइटेड वर्ल्ड स्कुल्स, नेपाल सन् २०१५ मा स्थापना भएको परोपकारी सामाजिक संस्था हो | यसले हाल संखुवासभा र गुल्मी जिल्लाका दुर्गम स्थानमा रहेका सामुदायिक विध्यालयहरुको शैक्षिक गुणस्तर अभिब्रिद्दिका लागि निरन्तर काम गरिरहेको छ | अहिले सम्म संस्थाले संखुवासभा र गुल्मी जिल्लामा ४२ ओटा सामुदायिक विध्यालाको निर्माण गरी ६ हजार बलाबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको युनाइटेड वर्ल्ड स्कुल्स् नेपालका कन्ट्री डाइरेक्टर सूर्य कार्कीले जानकारी दिनुभयो |