चाइनिज ताइपेईविरुद्ध नेपालको शानदार जित

काठमाडौँ- विश्वकप छनोटमा नेपालले बिहीबार चाइनिज ताइपेईलाई हराएको छ । बिहीबार वेलुका कुवेतमा भएको खेलमा नेपालले फिफा र्याकिंगमा ३० स्थान माथि रहेको चाइनिज ताइपेईलाई २-० ले हराएको हो ।

कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा गोल गरेका हुन् ।

ताइपेईका खेलाडी चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको थियो र त्यसमा अञ्जनले कुनै गल्ती नगरि सजिलै गोल गरे । अञ्जनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो । त्यस्तै ८१औँ मिनेटमा नेपालका लागि दोस्रो गोल नवयुग श्रेष्ठले गरेका हुन् ।

एसियाली विश्वकप छनोटको समूह ‘बी’ का खेल तटस्थ भूमिका रूपमा कुवेतमा भएको हो । नेपालले ताइपेईविरुद्धको पहिलो लेगको छनोटमा २–० को जित निकालेको थियो । त्यसमा दुवै गोल अञ्जनले नै गरेका थिए ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि नेपालका तर्फबाट यो पहिलो औपचारिक खेल हो । यसअघि उनकै नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जितसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ ।

चाईनिज ताईपेको यो छैटौं हार हो । अंक विहीन ताईपे तालिकाको पुछारमा रहेको छ । अब नेपालले जेठ २५ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।