संखुवासभामा किरियापुत्री बसेका दम्पतीको जलेर मृत्यु

संखुवासभा- संखुवासभामा किरियापुत्री बसेका एक दम्पतीको जलेर मृत्यु भएको छ । मादी–५ च्याङरिङमा आगलागीमा परेर शुक्रबार बिहान ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र उनकी पत्नी ४४ वर्षीया कमला दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काजकिरियाका लागि उनीहरु बसेका थिए । वडाध्यक्ष नेत्रप्रसाद दाहालका अनुसार साताअघि निधन भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद काजकिरियाका लागि चार छोरा–बुहारी र छोरीसहित १२ जना एकै घरमा बसेका थिए । राजेन्द्र र कमला ‘केही काम छ’ भनेर मूलघरबाट नजिकैको आफ्नो घर गएका थिए । उनीहरु नफर्किएपछि खोज्न जाँदा उक्त घरमा आगलागी भएको स्थानीयले देखेका थिए ।

घरको ढोका फोरेर भित्र पस्दा राजेन्द्र आगोमा परेर जलेका थिए भने कमला जलेर मृत फेला परेकी वडाध्यक्ष दाहालले बताए । घरको माथिल्लो तलामा मट्टितेल र दाउरा फेला परेका कारण घटना शंकास्पद भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी नवराज मल्लले बताए ।