यसकारण अचाक्ली बढ्यो खाने तेलको मूल्य 

काठमाडौँ- पछिल्लो समय खाने तेलको मूल्यमा कीर्तिमानी बनेको छ । अन्य खाद्य वस्तुको मूल्यमा सामान्य उत्तारचढाव देखिए पनि खाने तेलको मूल्य छोइनसक्नु छ । साढे दुई महिनायता लिटरमै ७५ रुपैयाँसम्म मूल्य बढेको खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।

‘तेलबाहेक अन्य खाद्यवस्तुको मूल्यमा त्यति अन्तर देखिएको छैन । तर साढे दुई महिनाअघि १ सय ४५ देखि १ सय ६० रुपैयाँ पर्ने एक लिटर सोयाबिन तेलको मूल्य बढेर २ सय २० रुपैयाँदेखि २ सय ३५ रुपैयाँसम्म पुगेको छ । प्रतिलिटर २ सय ३५ रुपैयाँ पर्ने सनफ्लावर तेल अहिले ३ सय रुपैयाँसम्म पुगेको छ,’ उनले भने, ‘तोरीको तेल पनि २ सय ७५ रुपैयाँदेखि २ सय ९० रुपैयाँसम्ममा बिक्री भएकोमा ३ सय ३० रुपैयाँसम्म पुगेको छ ।’

यो खुद्रा मूल्य साढे २ महिनायताको हो । त्योभन्दा अगाडि पनि मूल्य निरन्तर बढेको संघले जनाएको छ । ‘स्वदेशी उत्पादन न्यून छ । पूर्णतः परनिर्भर भएकाले अन्तर्राष्ट्रिय बजारमा बढ्दा यहाँ पनि बढ्छ । घट्दा स्वदेशी बजारमा पनि घट्छ,’ नेपाल वनस्पति घिउ तेल उत्पादक संघका अध्यक्ष सन्दीपकुमार अग्रवाल भन्छन् । उनका अनुसार तेलमा भइरहेको मूल्यवृद्धिका विभिन्न कारण छन् । पहिलो कारण कच्चापदार्थको मूल्यवृद्धि नै हो । हाल संघमा २० उद्योग आबद्ध छन् । ती उद्योगमा चाहिने कच्चापदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीका गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायत मुलुकबाट आयात हुन्छ । कच्चापदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने हुँदा यहाँ पनि असर परेको संघको दाबी छ ।

एक वर्षअघि अर्जेन्टिनाबाट प्रतिटन ६ सय १६ डलरमा खरिद गरिएको क्रुड सोयाबिन बढेर १२ सय ७९ डलर र युक्रेनमा ६ सय ५६ डलरमा खरिद गरिएको क्रुड सोयाबिनको तेल बढेर १५ सय ८० डलर पुगेको अध्यक्ष अग्रवाल बताउँछन् । ‘विश्वभर फैलिएको कोभिड र भूराजनीतिक मुद्दाहरूका कारण तेलको मूल्य अस्वाभाविक रूपमा बढेको छ । मूल्य हालसम्मकै ऐतिहासिक वृृद्धि हो,’ अग्रवालले भने, ‘यसको पुष्टि युरोपबाट प्रकाशन हुने आयलवर्ल्डको २३ अप्रिल २०२१ को डकुमेन्टले पनि प्रस्ट्याएको छ ।’

संघले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उपलब्ध गराएको विवरणअनुसार ८ अप्रिल २०२१ मा क्रुड सोयाबिन प्रतिटन ११ सय ९० बाट बढेर अप्रिल २२ सम्म आइपुग्दा १२ सय ७९ डलर पुगेको छ । हल्दियासम्म आइपुग्दा भाडा शुल्कसहित १३ सय ५० डलर पुगेको छ । क्रुड सनफ्लावरको मूल्य पनि अप्रिल ८ मा १५ सय ३० डलर थियो, अप्रिल २२ सम्म आइपुग्दा १५ सय ८० डलर, भाडा शुल्कसहित हल्दियासम्म पुग्दा १६ सय ६० डलर पुगेको छ ।

हल्दिया बन्दरगाहमा इन्धनको मूल्यमा भएको वृद्धिले नेपाल भन्सारसम्म आइपुग्दा ढुवानी असहजताका कारण थप मूल्य बढेको संघको दाबी छ । सहायक कच्चा पदार्थ र प्याकिङ सामग्रीको समेत मूल्य बढेको संघको दाबी छ । संघका अनुसार केमिकलको मूल्य प्रतिटन १ हजार डलरबाट बढेर ४ हजार डलर, पेपर प्रतिकिलो ४० रुपैयाँबाट बढेर ६० रुपैयाँ, प्लास्टिक प्रतिटन ६०० डलरबाट बढेर १४ सय डलर पुगेको छ । यसबाहेक भन्सार महसुल १० र मूल्य अभिवृद्धि कर १३ प्रतिशतबाट एक वर्षमा दोब्बर वृद्धि गरेकाले पनि तेल महँगिएको बताइएको छ । ‘तेल प्रशस्त छ, कृत्रिम अभाव र कालोबजारी हुनै सक्दैन । भन्सार विभागबाट ई–बिलिङ, र प्रज्ञापनपत्र सबै हेर्न सकिन्छ ।

वाणिज्य विभागमा पनि प्रज्ञापनपत्र बुझाएका छौं,’ अध्यक्ष अग्रवालले भने, ‘पूर्ण आयातमै निर्भर भएकाले मूल्य बढेको हो ।’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा भटमास खेती २६ हजार हेक्टरमा गरिन्छ । वार्षिक करिब ३४ हजार ४ सय ३४ टन उत्पादन हुन्छ । तेलहन (तोरी, आलस, सर्स्युं, सनफ्लावर) २ लाख ६१ हजार ४ सय ३२ हेक्टरमा खेती हुन्छ । यसबाट वार्षिक २ लाख ७४ हजार ५ सय ४ टन उत्पादन हुन्छ । केही वर्षयता उत्पादन बढ्न सकेको छैन । जसले गर्दा आयातमै निर्भर हुनुपरेको उद्योगीहरू बताउँछन् । भन्सार विभागका अनुसार मासिक अर्बौं रुपैयाँको तेलको कच्चापदार्थ आयात भइरहेको छ । उद्योगीहरूले आयात गरेर रिफाइन गरी स्वदेशी बजारसँगै भारत पनि पठाउँदै आएका छन् । अहिले तेलको मूल्य बढ्नुमा भने कोभिड नै कारक रहेको कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए ।

कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरे पनि स्वदेशी उत्पादनले माग धान्न नसक्ने बताउँछन् । ‘तोरी, भटमास र सनफ्लावरको उत्पादन बढाउन सकिएन । उत्पादन बढाउन नयाँ भेराइटीमा जान आवश्यक छ,’ उनले भने, ‘तर, नार्कमा जनशक्ति, स्रोतलगायतको अभावले समस्या भयो ।’

बजार अनुगमन तथा मूल्य नियन्त्रणको जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि अन्तर्राष्ट्रिय बजारमा भइरहेको वृद्धिले यहाँ असर गरेको जनाएको छ । विभागले गरेको अध्ययनमा उद्योगीहरूले २० प्रतिशतभित्रै रहेर नाफा लिएका छन् ।

कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ मा २० प्रतिशतभन्दा नाफा खान नहुने प्रस्ट उल्लेख छ । २० प्रतिशतभन्दा बढी नाफा राखे कालोबजारी ऐनअनुसार कारबाही गर्न सकिन्छ । ‘तर, कानुनी दायरामै रहेको देखिन्छ । नाफा वैधानिक रूपमै बढाइएको छ । प्रतिशतभन्दा प्रतिलिटरमा राखेको भए सर्वसाधारणलाई केही राहत हुन्थ्यो,’ विभागका महानिर्देशक प्रकाश पौडेलले भने, ‘अहिले कोभिडको अवस्थामा मूल्य घटाएर बिक्री गर्न अनुरोध गरेका छौं