प्रदेश १ मा ७० हजारलाई भेरोसेल खोप लगाइने, कुन जिल्लाका कतिले पाउने ?

प्रदेश १ मा ७० हजारलाई कोभिड- १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप पठाउने काम भईरहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु शाहले जानकारी दिए । उनका अनुसार भोलिसम्म प्रदेश १ का सवै जिल्लामा खोप पुगिसक्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ मा दुवै मात्राका लागिश्लाख ४० हजार ५०५ डोज खोप पठाएको छ । प्रदेश स्वास्थ्य आपुर्तीमा आएको खोपलाई जिल्ला जिल्लामा पठाउने काम भईरहेको उनको भनाई छ ।

शाहका अनुसार ताप्लेजुङमा ३ हजार ७०३, संखुवासभामा ४ हजार ४००, सोलुखुम्बुमा २ हजार ८८५, ओखलढुङ्गामा ४ हजार २९१, खोटाङमा ४ हजार ८४८, भोजपुर ४ हजार ३४७, धनकुटामा ४ हजार ८५३, तेर्हथुममा २ हजार ८४६, पाँचथरमा ५ हजार ५८१, इलाममा ८ हजार ८६२, झापामा २६ हजार ४१९, मोरङमा ३१ हजार १८५, सुनसरीमा २६ हजार १३२, उदयपुरमा १० हजार १५१ डोज खोप पठाउने काम भईरहेको छ । शाहका अनुसार दुवै डोजका लागि खोप पठाईएको छ ।

मापदण्ड अनुसारका व्यक्तिलाई मात्र खोप लगाउन मन्त्री राईको निर्देशन

कोभिड १९ विरुद्धको भेरोसेल खोप सरकारले निर्धारण गरेको मापदण्ड अनुसारका व्यक्तिहरुलाई मात्र लगाउन सामाजिक विकास मन्त्री उषाकला राईले निर्देशन दिएकी छन् ।

उनले सवै नागरिकलाई चाँडो भन्दा चाँडो कोभिड १९ विरुद्धको खोप लगाउन सरकार लागि परेको बताईन् । विश्व स्वास्थ्य संगठनले भेरोसेल १८ वर्षमाथि जुनसुकै उमेर समूहले लगाउन मिल्ने भनेपछि पहिलो चरणमा प्राप्त खोप ६०(६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई मात्र लगाउन सरकारले मापदण्ड बनाएकाले सोही अनुसार गर्न भनिएको उनले बताइन् ।