महोत्तरी । बर्दिबास बजारबाट बस्तीसम्म जोडिएको करिब डेढ किलोमिटर बाटो छिचोलिरहँदा लाग्छ, त्यहाँ नवदुलही भित्र्याउने तरखर भइरहेको छ । बाटोभरि स्वागतद्वार ठड्याइएको छ । हुलका हुल आगन्तुक आउँछन्, बस्तीलाई पृष्ठभूमि बनाएर सेल्फी खिच्छन् । लाग्छ, मुसहर बस्तीमा यतिबेला मेला लागेको छ ।

अर्को शब्दमा भन्दा मुसहर बस्ती तंग्रिएको छ । परेड खेल्न तैनाथ सीपाही जस्तै पंक्तिबद्ध उभिएका छन्, बस्तीका ५२ वटा घर । उस्तै बान्की, उस्तै रंग । प्रत्येक घरसँगै जोडिएको धारा, शौचालय, सानो बगैंचा, बार्दली । घरलाई दाँयाबाँया छाडेर लमतन्न परेको बाटो । बाल उद्यन, मन्दिर, चौतारो, सामुदायिक भवन ।

१०८ बर्षीया मरानी सदाले सायदै कल्पेकी थिइन्, जिन्दगीमा एकदिन यस्तै घर आफ्नो हुनेछ । तर, नयाँ बर्ष बिहानीसँगै उनी झुपडीबाट त्यही पक्की घरमा स्थान्तरण हुनेछिन् । मरानी जस्तै ५२ परिवार मुसहर साँघुरा झुपडीभित्र कुप्रिएर बस्नुपर्ने बाध्यताबाट मुक्त हुनेछन् । नयाँ बर्ष २०७४ को झुल्कने घामको पहिलो स्पर्श मुसहर समुदायले यसरी अनुभूत गर्नेछन्, मानौं त्यो उनीहरुको निम्ति झुल्किएको हो । नेपाली क्यालेन्डरको अन्तिम पातो पल्टिएसँगै उनीहरुको जीवनमा नयाँ अध्याय सुरु हुँदैछ ।

आफ्ना साँघुरा झुपडी अघिल्तिर उभिएर सीताराम कट्टेल र कुञ्जना घिमिरे ‘धुर्मुस(सुन्तली’ले तीन महिनाअघि उद्घोष गरेका थिए, तपाईहरुको घर बनाएर बैशाख १ गते बिहान ८ बजे हस्तान्तरण गर्छौ । तर, उनीहरुलाई पत्यार लागेन । हाम्रो नाङ्गो आङ र रित्तो थालको फोटो भजाएर अरुले पैसा खान्छन्’ उनीहरु यस्तै ठान्थे ।

तर, त्यसपटक सोचेजस्तो भएन । पुसको चिसोले कठ्यांग्रिएका बेला धुर्मुस(सुन्तली बस्तीमा देखापरे । उनीहरुको साथमा ओड्ने कम्बल, सिरक, खानेकुरा थियो । अर्कोपटक उसैगरी धुर्मुस(सुन्तली आएर घर बनाउने कुरा गरे । उनीहरु खुसीले उफ्रिए । साँझमा दिपावली गरे । नभन्दै धुर्मुस(सुन्तलीले घर बनाइदिए, हेर्दै बसौं बसौं लाग्ने । झुपडीमै घामपानी झेलेका उनीहरुले कहिल्यै सोचेका थिएनन्, यस्तो घरमा बस्न पाइएला भनेर ।

साँच्चै नसोचेको भइदियो । ९५ दिनमा नै झुप्रे बस्तीलाई ‘एकिकृत नमुना बस्ती’मा रुपान्तरण गरेका छन्, धुर्मुस(सुन्तलीले । छिमेकीहरु भन्छन्, ‘चमत्कारै भयो, जादु गरेजस्तै भयो । उहाँहरु साक्षत राम र सीता रहेछन् ।’

बर्दिबास बजार नजिकैको मुसहर बस्ती हेर्नेको लर्को दिनदिनै लाग्छ, मानौ यो कुनै पर्यटनस्थल हो । स्थानीय रिक्सा चालक भन्छन्, ‘दिनमा १०र१२ चोटी त हामीले नै चक्कर लगाउनुपर्छ, धुमुर्स-सुन्तलीको बस्ती हेर्न आउनेहरुलाई बोकेर ।’

बस्तीभित्र मुसहरको मन्दिर छ, जहाँ उनीहरु आफ्नो कुलको पूजा गर्छन् । बाल उद्यन र सँगै ठडिएको ३५ फिट अग्लो भ्यू टावर । यो भ्यू टावरमा आगन्तुकहरु शःसुल्क चढ्न पाउनेछन् । उनीहरुले बुझाएको शुल्क मुसहर समुदायको सामाजिक कोषमा जम्मा हुनेछ । धुर्मुस(सुन्तली पुगेपछि नै हो, बनीबुतो गरेर हातमुख जोर्दै आएका उनीहरुले ९५ हजार रुपैयाँको कोष खडा गरेको, मुसहर बालबालिका बिद्यालय जान थालेको ।

यो त्यही बस्ती हो, जहाँ पाइला टेक्न जो कोहि हच्किन्थे । बस्तीको बिरुप दृश्यले बिचलित बनाउँथ्यो । तर, अहिले बस्तीको अनुहार फेरिएको छ, एक सय ८० डिग्रीको कोणमा । मुसहरको झुपडी भएको स्थानमा ५० वटा आवसिय घर बनेको छ,जहाँ सबै सेवा सुविधा छ ।

धुर्मुस( सुन्तलीको आह्वानमा देश(विदेशबाट मनकारी दाताहरुले सहयोग गरे । कसैले आर्थिक सहयोग गरे, कसैले भौतिक । बस्ती निर्माणका लागि करिब पाँच करोड रुपैयाँ खर्च भएको बताइन्छ ।

तपाईको प्रतिक्रिया