संखुवासभा हत्याकाण्ड : स्थानिय अझै त्रासमा

सङ्खुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउँमा एकै परिवारको ६ जनाको ज्यान लिने गरि सामूहिक हत्याकाण्ड भएको आज १३ दिन पुगेको छ ।

५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

नेपाल प्रहरीको केन्द्र देखि स्थानिय सम्मको शक्तिले लामो अनुसन्धान पछि घटना घटेको पाँचौँ दिन प्रहरीले मृतक तेजबहादुरकै वडावाका नाति साइनोले भतिज पर्ने २५ वर्षीय लोकबहादुर कार्कीलाई केहि क्ल्युको आधारमा नियन्त्रणमा लिन सफल भयो ।

प्रहरीको विशेष अनुसन्धान पछि लोकबहादुरले घटनामा आफू संलग्न भएको स्वीकारेपछि भदौ २७ गते आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरेर अभियुक्तलाई प्रहरीले सार्वजनिक गर्‍यो ।

त्यस पछि अभियुक्तलाई जिल्ला कारागार सङ्खुवासभा चलान गर्‍यो । त्यस पछि पनि प्रहरीले आफ्नो अनुसन्धान जारी राख्नका लागि घटना स्थल प्रहरीले छाडेको छैन ।

तेजबहादुरकी बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । प्रहरीले ट्र्याक गर्दा समेत फेला नपरेको मोबाइल लोकबहादुर कार्कीकै घरमा केही दिन अघि फेला पर्‍यो । यसले थप घटनाको बारेमा पुष्टि गर्ने प्रमाण फेला परेको सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहाल बताउँछन् ।

मोबाइल अभियुक्त लोकबहादुरको घरमा फेला पर्नुले घटनाको प्रत्यक्षदर्शी (आईवीटनेस) पनि छन् भन्ने प्रहरी अनुसन्धानले देखाएको छ ।

यसले गर्दा अभियुक्त लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्कीलाई जिल्ला प्रहरीमा सोधपुछ भइरहेको छ । यसबाट घटनाको थप सबुत प्रमाणहरू फेला पर्ने अनुसन्धानमा संलग्न प्रहरीहरूको विश्वास रहेको छ ।

सामूहिक हत्याकाण्ड भएको १३ दिन पुग्दा सम्म अझै मादीवासीमा त्रास भने कायमै छ । घटनास्थलमा प्रहरी टोली भएको भए पनि अनुसन्धानले अझ के के हुने हो मादीवासीमा कौतुहलता पैदा गरेसँगै राति एक्ले हिँडडुल गर्न समस्या रहेको मादी १ का वडाध्यक्ष खेम कटुवाल बताउँछन् ।

उनी भन्छन् – जिल्लाबाट प्रहरीहरू आइरहने क्रम अझै जारी रहे पनि मादी खोलागाउँवासीमा त्रास कायमै छ । मादी नगरपालिकाका मेयर विदुर लिङथेप भने नगरबासीहरुलाई त्रसित नहुन आग्रह गर्छन् ।

घटनाको अनुसन्धानमा प्रहरी सफल भएको र बाँकी सबुतहरू फेला पर्दै गएकोले सामूहिक हत्याकाण्डको दोषी पक्राउ भइसकेकोले डराउनुपर्ने नभएको मेयर लिङ्थेपको भनाई छ ।