भोजपुरका प्रदेश सांसद राजेन्द्र राई मुख्यमन्त्री बन्ने

भोजपुर ‘क’ का प्रदेश सांसद तथा एकीकृत समाजवादी पार्टीका प्रदेश नम्बर १ का संसदियदलका नेता समेत रहेका राजेन्द्र राई मुख्यमन्त्री हुने भएकाछन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा माधव नेपालको पार्टीलाई दुबै प्रदेशमा मुख्यमन्त्री दिने सहमति जुटे सँगै राईको लागि मुख्यमन्त्रीको ढोका खुलेको हो ।

राई सँगै बाग्मती प्रदेशका राजेन्द्र पाण्डेपनि मुख्यमन्त्री वन्ने भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका एक नेताले प्रदेश १ र बाग्मती प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री पाउने गरी गठबन्धनको बैठकमा सहमति जुटेको जानकारी दिए । दुबै प्रदेशमा हाल एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको छ भने असोज अन्तिम साता विश्वासको मत लिने तयारी भएको छ ।

हाल प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको भएपनि विश्वासको मत लिँदा उनीहरुले बहुमत नपाउने निश्चित छ । यस्तो अबस्थामा बन्ने गठबन्धन सरकारमा माधव नेपाल पक्षले सुरुदेखि नै दावी प्रस्तुत गर्दै आएपनि काँग्रेसले समेत आफूले मुख्यमन्त्री पाउनुपर्ने अडान राख्दा कसको नेतृत्व रहने भन्नेमा अलमल रहँदै आएको थियो । तर अब गठबन्धनमा सहभागी जुटेसँगै प्रदेश १ मा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

यसअघि नै एकीकृत समाजवादी पार्टीले दुई राजेन्द्रलाई सम्बन्धित प्रदेशसभाको संसदीय दलको नेता चयन गरिसकेको छ । प्रदेशमा संसदीय दलको नेता नै मुख्यमन्त्री बन्न पाउने व्यवस्था रहिआएको छ ।