काठमाडौं । सत्तारुढ दल र मधेसी मोर्चाबिच तीन बुँदे सहमति भएको छ । सहमतिपछि मोर्चा आन्दोलन फिर्ता लिएर चुनावमा सहभागी हुने भएको छ ।
सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी तथा संघीय समाजवादी फोरमबिच शुक्रबार दुईपटक भएका वार्ता सकारात्मक र सहमति उन्मुख भएपछि शनिबार थप छलफल भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै पाँच घण्टा भएको छलफलपछि सहमतिमा पुगिएको भौतिक निर्माण तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिए ।
तीन बुँदे सहमतिअनुसार संविधान संशोधन प्रस्ताव परिमार्जनसहित अगाडी बढाउने, दुई चरणमा चुनाव गर्ने र आइतबार मन्त्रिपरिषद बैठक बसेर यससम्बन्धमा निर्णय गर्ने साथै ३१ गतेको चुनाव त्यही मितिमा गर्ने र मोर्चा चुनावमा ल्याउने वातावरण बनाएर दुई चरणमा चुनाव गर्नेबारे निर्वाचन आयोगसँग छलफल गरेर जेठमा गर्ने गरी मिति तय गर्ने उनले जानकारी दिए ।
यस्तै राष्ट्रिय जनता पार्टी राजपाका लक्ष्मणलाल कर्णले आइतबारको मन्त्रीपरिषद बैठकबाट हुने निर्णयपछि आफूहरुले आन्दोलन औपचारिक रुपमा स्थगित गर्ने बताए ।

तपाईको प्रतिक्रिया