प्रदीप जी, ‘अझै कहाँ छ, कांग्रेस ?’

आदरणीय प्रदीप पौडेलजी,
तपाई वयोवृद्ध पार्टीका युवा नेता हुनुहुन्छ । म जस्ताले उतिधेरै आशा नगरेका पार्टी नेपाली कांग्रेसभित्रका आशा गरिएका नेता हुनुहुन्छ । मेरो कुनै आस्था, सपना र आशा तपाईको पार्टी नेपाली कांग्रेससँग जोडिएनन् । जोडिएका छैनन् । तर, तपाई जस्ता युवा नेताहरुसँग भने अबश्य पनि आशा जोडिएका हुन्छन् । छन् । धेरै युवाहरुले तपाईहरुको उज्यालो अनुहारमा आफ्नो सुखद भबिष्य देखिरहेका छन् । तपाईको पदचापमा धेरै युवाहरुले आफ्नो जीवनको गति देखिरहेका होलान् । तपाई राजनीतिमा हुनुहुन्छ । तपाईको राजनीति कांग्रेसमा छ । कांग्रेसको उज्यालो भबिष्यसँग तपाईको भबिष्य पनि जोडिएको छ । कांग्रेस छ, रत तपाई पनि हुनहुन्छ ।

मलाई यस्तो लाग्थ्यो, पछिल्ला दिनहरुमा तपाईको पार्टी कांग्रेस र नेतृत्वले जे गरिरहेको छ, त्यसले तपाई जस्ता युवा नेतालाई विक्षिप्त तुल्याएको छ । तपाईहरुको मनस्थितिलाई बेजोडले खलबल्याई दिएको छ । बेहद चिन्तामा हुनुहुन्छ । आहात बनाएको छ, पार्टी प्रतिकोे विश्वास धरमराएको छ । नेतृत्वप्रतिको आस्था टुट्दै गएको छ । मन अशान्त छ । चिन्ता छ । आक्रोश छ । डराउनुभएको, हडबडाउनुभएको छ । कतै हिनताबोध छ । तर, जब तपाईले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई लेखेको खुलापत्र खुलापत्र (एमाले अध्यक्ष ओलीलाई खुला पत्र, जेष्ठ १८, २०७४ कान्तिपुर) पढें । मेरो अनुमानले पुरै फेल खायो । मेरो अनुमानले पुरै फेल खायो । आज कांग्रेसले जे गरिरहेको छ, तपाईलाई हिनताबोध होइन गौरवबोध रहेछ । कांग्रेस जुट बाटोमा हिडिरहेको छ, त्यसले तपाईलाई आहात होइन उत्साह प्रदान गरेको रहेछ । आक्रोश होइन खुसी रहेछ । यही कारणले तपाईलाई यो खुल्ला पत्र लेख्ने जाँगर पलाएको हो ।

प्रदीपजी, केपी ओलीले ‘अझैं कहाँ छ, कांग्रेस ?’ भन्ने प्रश्न गर्नुभएकोमा तपाईलाई ठुलै आक्रोश रहेछ । यो प्रश्नको उत्तर तपाईले कांग्रेसको विगत गौरवगान लेख्नुभएको रहेछ । दिवगन्त नेताहरुको स्तुती गान गाउनुभएको रहेछ । तर, केपी ओलीले कांग्रेस कहाँ थियो ? कांग्रेसमा को थियो ? भनेर सोध्नुभएको होइन । ‘अझैं छ ?’ भनेर प्रश्न गर्नुभएको हो अर्थात् वर्तमानको कुरा गर्नुभएको हो । म अलिकति तपाईलाई सम्झाऊ पहिलो चरणको स्थानीय तहको निर्वाचनको नतिजा धमाधम आइरहेको बेला ८ जेठ २०७४ मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको अनामनगरमा बसेको बैठकमा नेता पौडेलले नै सोधेका थिए,‘साथीहरु आज कहाँ छ नेपाली कांग्रेस, के हामीले बनाउन खोजिरहेको कांग्रेस यही हो ?’ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बुढालिकण्ठ दरबारको आवश्यकता पुरा गर्न र तुच्छ सत्ता स्वार्थको पुरा गर्नमा अभिसप्त रहेको नेता पौडेलेको निकष्र्ष छ । त्यो बैठकको निकष्र्ष थियो, ‘परम्परावादी मतदाताकै कारण कांग्रेसले ग्रामीण इलाकामा चुनाव जिते पनि सचेत मतदाता रहेको सहरी इलाकामा पार्टी हारेँ । नेतृत्वको गलत कदमको कारण सचेत जनता र पुस्ताबाट कांग्रेस क्रमस टाढिदैछ ।’ यो मेरो निजोड होइन कांग्रेसकै नेताहरुको निचोड हो ।

प्रदीपजी, यहाँनिर म तपाईको पार्टी कांग्रेसको विगततिर धेरै जान्न । हो, यो मुलुकको सर्वाधिक समय तपाईकै पार्टीले लिएको छ । नेतृत्व गरेको छ । त्यति लामो समय नेतृत्व गर्न पाउँदा कांग्रेसले जे ग¥यो, तपाईलाई हिनताबोध छ या गौरवबोध त्यो तपाईकै जिम्मा । मातृकाप्रसाद कोइरालाले दिल्ली सम्झौताको गुुण तिर्दै सत्ता टिकाइराख्न २०११ वैशाख १२ गते भारतलाई कोशी सुम्पिएको कथा अहिले हाल्नु जरुरी छैन । २०१६ सालमा गण्डक बेचेको या २०४८ सालमा भारतलाई टनकपुर सुम्पिएको जस्ता दर्जनौं कथाहरु हालेर श्रद्धेय नेताहरुप्रति अपमान गर्न पनि जरुरी ठान्दिन । अबको समय इतिहासको भत्र्सना गरेर बस्ने हुदै होइन । तर, अहिले तपाईको पार्टी कांग्रेस र उसको नेतृत्वले जे गरिरहेको छ । के तपाईलाई त्यस्तो लाग्छ, तपाईको कांग्रेस त्यही हो ? उसको मुल्यमान्यता र आर्दश यही हो ? पार्टी निर्वाचनमा हारेकोमा तपाईको हृदय उद्येलित भएको होला । तर, एक पटक केही महिना यता कांग्रेसले जे गरिरहेको छ, जे गर्न खोजिरहेको छ । त्यो ठिक छ ? आफ्नै विवेकलाई प्रश्न गर्नुहोस् । हृदयलाई होइन दिमागलाई सोध्नुहोस् ।

प्रदीपजी, हावादारी सपनाले देश नबन्ने तपाईको दलिल रहेछ । तपाई जस्तो युवाले यस्तो निरश कुरा गर्दा असाध्यै टिठ लागेर आयो । मान्छेले सपना नदेखेको भए आज हामी यहाँसम्म आइपुगेका हुन्थ्यौं ? के हामी नेपालीहरुले समृद्धिका सपना देख्न अझै हतारो हुन्छ ? शहरमा रेल गुद्छ, पहाडमा गाडी गुड्छ । लोडसेडिङ हुदैन सधैं उज्यालो हुन्छ । गरिब मान्छेहरु पनि धनी हुन्छन् । युवा–विद्याथीहर्रुले रोजगार पाउनेछन् । बृद्धबृद्धाको भत्ता बढ्छ । नेपालको आफ्नै बन्दरगाहा हुनेछ । एमालेले देखाएको सपना यही हो । के यो हावादारी सपना हो ? तपाईले आफ्नो पार्टीको घोषणापत्र त पढ्नुभएकै होला ? महानगर र नगरका तपाईका उम्मेदवारहरुले जारी गरेका प्रतिबद्धतापत्र हेर्नुभएकै हुनुपर्छ । ती घोषणपत्र दोहो¥याएर पढ्नुहोस् । त्यहाँ पनि रेलको कुरा छ, उज्यालोको सपना छ । के तपाईको बुझाईमा ती पनि सबै हावादारी भए ? अरुको सपनाले घचेटेर हो या आफैंले देखेर लेखिएका हुन् । तर, ती पत्रहरुमा कांग्रेसले पनि सपना देखाएका छन् । युवा त एक कदम अघि हुनुपर्ने तर तपाई पार्टी र तलका नेताहरु भन्दा पनि धेरै कदम पछाडि पो देखिनुभयो । भगतसिंहले भनेका थिए,‘यदि कुनै आत्मत्यागी वीरको चाहना भए युवाहरुसँग मागे हुन्छ, रसिकता उसकै साथ हुन्छ । भावुकता उसकै सम्पति हो । ऊ निश्चित छ, असावधान छ, । अद्भ्त छ, उसको सहास । अमोध छ, उसको उत्साह । सपनाको खडेरी कतै लाग्यो भने, उसैसँग मागेहुन्छ । सपना पनि उसैसँग छ ।’ सायद अब तपाईसँग सपना माग्नु वा देख्नु पनि हावादारी अपेक्षा हुन जाला ?

तपाईले आफ्नो आलेखको सुरुवात मधेसको समस्यादेखि सुरु गर्नुभएको छ । हो, कसैले पनि कुनै समुदायको अपमान हुने गरी बोल्नु हुदैंन । तर, आज मधेसी मोर्चाले जे माग राखिरहेका छन् । त्यसमा तपाई सहमत हुनहुन्छ ? उसको नागरिकताको मागको बिषयमा तपाईको सहमति हो ? कुन देशमा त्यस्तो कानुन छ, की अंगीकृत नागरिक देशको सर्वोच्च पदमा पुग्न पाउँछ । विदेशीहरुले नेपाली नागरिकता लिएको केही थान दिनहरुमा देशको प्रधानमन्त्री बन्न पाउनुपर्छ भन्ने मागमा तपाईको सहमति छ ? केवल जनसंख्याको आधारमा मात्रै निर्वाचन क्षेत्र र स्थानीय तहहरुको संख्या निर्धारण गर्नुपर्छ भन्नेमा तपाईको सहमति छ हो ? वा पहाड र मधेसलाई छुट्टयाएर संघीयता कामय गर्नुपर्छ भन्ने मागमा तपाईको सहमती छ ? तपाईको सहमति यो या असहमति त्यो तपाईसँग राख्नुहोस् । तर, सत्ता र शक्ति आर्जनको नाममा तपाईको पार्टी नेपाली कांग्रेलले मधेसी मोर्चालाई निरन्तर धाप मारिरहेकै छ । उक्साई रहेकै छ । माग जे सुकै होस् वा मोर्चाको मागले देशलाई जहाँ सुकै लैजाओस्, मोर्चालाई धाप मारेर मधेसमा भोट बचाराख्नुपर्छ भनेर लागिरहेको नेतृत्वसँग तपाईको सहमति हो ? कहिलेकाही भोट माया मारेर पनि देशलाई माया गर्नु प्रर्दन र ?

एउटा घटना सम्झन्छु, जतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा थियो । भारतीय नाकाबन्दीमा थियो । इन्धन थिएन । अस्पतालमा औषधि थिएन । सुत्केरी आमा मरिरहेका थिए । भारतीय नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनको विरुद्धमा थियो । जनता भोकै थिए तर भारतीय हस्तक्षेप मुर्दाबाद भन्दै जनता सडकमा आएका थिए । त्यो बेला तपाईको पार्टीले नाकाबन्दी होइन भनेर दलिल पेश ग¥यो । त्यो बेला कहाँ थियो, बिपी कोइरालाको कांग्रेस ? अर्को घटना सम्झिन्छु, जतिबेला एमाले मेची महाकाली राष्ट्रिय अभियानको लिएर सप्तरी पुग्यो । मोर्चाले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्दा मधेसी जनताले ज्यान गुमाए । तर, त्यही बेला कांग्रेसले मोर्चालाई धाप मारिरहेको थियो । शान्तिपूर्ण कार्यक्रममाथिको आक्रमण लोकतान्त्रिक मुल्यमान्यता र आर्दश विरुद्धको आक्रमण थियो । तर, कांग्रेस ताली बजाएर बस्यो । के कांग्रेसको आर्दश यही हो ? कुनै शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप र आक्रमण गर्दा कांग्रेस बोल्दैन, बरु रमिते भएर बिपक्षीलाई उकास्छ । केही बिपी कोइरालाको कांग्रेसको मुल्य मान्यता र आदर्श यही हो ? अनि यस्तो बेला ‘अझै कहाँ छ, कांग्रेस ?’ भनेर नसोधेर कांग्रेसले पञ्चायत बिरुद्ध लडेको थियो भनेर गौरवगाथा नै गाइरहने ?

पछिल्लो घटना हेरौं, चितवनको भरतपुरमा मत गणना जारी रहेकै बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्याते । एमालेले मत गणना गरी पाऊ भनेर अनुरोध गरिरहे । यो बिषय केवल एमालेको मात्रै थिएन । मतपत्र च्यातिनु लोकतान्त्रिक मुल्य मान्यता र आर्दश च्यातिनु हो । आजसम्म लडेर प्राप्त भएको यही मतपत्र होइन र ? लोकतान्त्रिक मुल्य मान्यता र आर्दश च्यातिदा किन बोलेन कांग्रेस ? माओवादीले पुन मतदानको माग गरेको छ । पुन मतदान हुदा एमाले र माओवादीमा एउटाले जित्लान् ? तर, पुन मतदान गरिदा लोकतन्त्र त हार्नेछ । लोकतन्त्र हार्दै गर्दा किन बोल्दैन कांग्रेस ? म दोहो¥याएर सोध्छु, प्रदीप जी, ‘अझै कहाँ छ, कांग्रेस ?’

प्रदीप जी, कांग्रसले अविचलित रुपमा लोकतन्त्र धुनी जगाएको उल्लेख गर्नुभएको रहेछ । के तपाईलाई त्यस्तो लाग्दैंन, ‘विगतमा लोकतन्त्रको धुनी जगाएको कांग्रेसले अहिले लोकतन्त्रमाथि आगो सल्काइरहेको छ ।’ पछिल्लो समयमा तपाईको पार्टी र नेतृत्वले गरेका कामका सूची उल्लेख गर्दा निकै लामो हुन जान्छ । त्यो इतिहासले सुरक्षित गरेकै छ । सामुन्नेका दुई घटना सम्झन्छु, यतिका बर्ष लडेर प्राप्त आएको लोकतन्त्र र तिनको सारथी राजनीतिक दलहरु माथि खुलेआम धाँवा बोल्दै हिडेका थिए तत्कालिन अख्यिार प्रमुख लोकमानसिंह कार्की । तिनि वर्तमान सबै खालका संरचनाको बिरुद्धमा उभिएका थिए । हो, त्यही कार्की विरुद्ध महाअभियोग लगाउदा कांग्रेस चुपचाप बस्यो । बरु, उल्टै असन्तोष जनायो । तर, त्यही कांग्रेस इमान र निष्ठाको साथ काम गरीरहेकी प्रधानन्यायधिस सुशीला कार्की विरुद्ध उभियो । प्रहरी महानिरिक्षक नियुक्तीको स्वार्थ पुरा नहँुदा स्वतन्त्र न्यायलायमाथि उभियो कांग्रेस । लोकतन्त्रको चिरहरण हुनेगरी स्वतन्त्र न्यायपालिका विरुद्ध कांग्रेसले धावा बोल्यो । तपाईलाई लाग्न सक्छ, यही हो कांग्रेस । तर, कांग्रेसलाई फर्केर हेर्नुहोस्, बिपि, गणेशमान र कृष्णप्रसाद भट्टराईलाई फर्केर पढ्नुहोस् । यो कांग्रेस होइन । जरुर प्रश्न खडा हुन्छ, ‘अझै कहाँ छ, कांग्रेस ?’ आज एमालेले होइन कांग्रेसप्रति सहनुभुति राख्ने सैयौं बुद्धिजिविहरुले, कांग्रेसकै हजारौं कार्यकर्ताहरुले प्रश्न सोधीरहेको छ,‘कहाँ छ कांग्रेस ?’ प्रदीप गिरी, कृष्ण खनाल कृष्ण पहाडी, केदारभक्त माथेमा, डा. गोबिन्द केसी देखी निलाम्बर आचार्यसम्मले सोधिरहेका छन् । कांग्रेसलाई माया गर्ने धेरै सम्पादकहरुले समेत लेख लेखेरै सोधेका छन्,‘कहाँ छ कांग्रेस ?’

प्रदीप जी, अन्तमा मेरो एउटा स्पष्टीकरण छ, मैले यो पत्र मेरो एमाले अध्यक्ष केपी ओलीलाई गाली गर्नुभयो भनेर उहाँप्रतिको अगाध मायाले लेखेको हुदैं होइन । मैले आशा गरेको युवा नेताको अन्तत मायाले लेखेको हुँ । म चहान्छु, मेरो अध्यक्षले भन्दा एक कदम अघि बढेर समृद्धिका सपना देख्नुहोस् । देखाउनुहोस् । फेरि म भगत सिंहकै भनाई राख्न चहान्छु, ‘ए युवा ! तिमि किन बेहोस निद्रमा परेर बेखबर सुतिरहन्छौं । उठ, आँखा खोल, हेर, प्राचीको दिशा ललाट सिन्दुर रञ्जित भइसक्यो, अब धेरै नसुत । सुत्ने नै हो भने अनन्त निद्राको काखमा गएर सुतिराख । काँतरताको क्रोड(कोख)मा किन सुत्छौं ? माया–मोह र ममता त्यागेर गर्जि उठ ।’ प्रदीपजी, आँखा खोलेर हेर्नुहोस् । भारतीय चर्चित कवि अबतारसिंह पाशले भनेका छन्, ‘सबैभन्दा खतरनाक हुन्छ हाम्रा सपनाहरुको मृत्यु हुनु ।’ कांग्रेसभित्र देउवाले जे गरिरहेको छ । त्यो लोकतन्त्रको लागि खतरा छ । कांग्रेसको उज्यालो भबिष्यको लागि खतरा छ । आज कांग्रेसले जे गरिरहेको छ, त्यसमै तपाईलाई गौरवबोध रहेछ, सबैभन्दा खतरनाक चहिँ यो हो । तपाई जस्तो युवाले पनि सपनाहरुलाई हावादारी भन्नुहुन्छ, त्यो खतरानक हो । प्रदीपजी, के कांग्रेसका तपाई जस्ता युवाको सपनाहरुको मृत्यु भएको हो र ?