एनआईसी एसियाको अन्तर बैङक कारोवार किन बन्द हुने भयो ????

नेपाल बैंकर्स संघको निर्णय बाहिर गएर बैंकिंग प्रणालीलाई असहज बनाउन खाेजेको भन्दै संघले एनआईसी एशिया बैंकसँगको सम्बन्ध र सहकार्यलाई तत्काल स्थगित गर्ने निर्णय गरेको छ । एनआईसी एशियामा व्याजदरको विषयलाई लिएर प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजीनामा गरेका थिए ।

सो लगत्तै बैंकले नयाँ व्याजदर सार्वजनिक गरेपछि आकस्मिक बैठक बोलाएर संघले यस्तो निर्णय गरेको हो । एनआइसी एसियाले संघमा ब्याजदर नबढाउने प्रतिबद्धता व्यक्त गरेपनि सम्झौता विपरित संघको काम कार्वाहीलाई प्रभावित बनाउन खाजेको संघको ठहर छ ।

पछिल्लो पटक एनआईसी एशियाले साधारण बचतको व्याजदर १० प्रतिशत पुर्याएलगत्तै संघले बैठक बोलाएर साधारण बचतको व्याजदर ८ प्रतिशत माथि नलैजाने निर्णय गरेको थियो । सोही अनुसार एनआईसी एशियाले व्याजदर ८ प्रतिशतमा नै घटाएको थियो ।

 

तर त्यस अघिको बैठकले मुद्धती निक्षेपमा ११ प्रतिशत व्याजदरभन्दा माथि नजाने भनी गरेको निर्णयलाई टेकेर एनआईसी एशियाले १२ प्रतिशतको व्याजदर प्रस्ताव गरेको छ । यही व्याजदरको विषयमा उत्पन्न विवादका कारण बैंकका प्रमुख कार्यकारी अधिकृत रिसालले राजिनामा गरेपछि बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको थियो ।

बैंकको यो निर्णयलाई संघले एक्लो यात्रामा निस्कन एनअाइसी एशिया अग्रसर भएको भन्दै  तत्कालका लागि साे बैंकसँग कुनै पनि किसिमका सम्बन्ध नराख्ने निर्णय गरेको हो । संघले एनआईसी एशियासँग कुनै पनि किसिमको अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको छ ।

‘एनआइसी एसियाको पछिल्लो कदम वाणिज्य बैंकहरुको प्रणालीमा नै समस्या ल्याउने शैलीमा अघि बढ्यो । यही कारण बाँकी २७ वाणिज्य बैंकले एनआईसी एशियासँग अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेका छौं ।’ मेरोलगानीसँग कुरा गर्दै बैंकर संघका अध्यक्ष एवं नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुगांनाले भने ।

‘प्रणाली बिगार्नुका साथै अरु बैंकलाई पनि समस्यामा पार्ने गरी एक्लो दौडमा एनआईसी एशिया हिड्छ भने अरु बैंकले  सहकार्य गर्ने भन्ने प्रश्न नभएकाले  यस्तो निर्णय गर्नु परेको हो । एनआईसी एशियासँग अन्तर बैंक कारोबार स्थगन गर्ने सम्बन्धमा राष्ट्र बैंकलाई जानकारी गराएर प्रकृया अघि बढाउँछौं ।’ ढुंगानाले भने ।

उनका अनुसार एनआईसी एशियासँग अरु बैंकले विदेशी मुद्राको कारोबार पनि नगर्ने निर्णय भएको छ ।

प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाललाई राजिनामा गर्न बाध्य पारिएको हो वा हैन भन्ने सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो । यस सम्बन्धमा अहिले नै प्रतिकृया जनाउने भन्दापनि समस्याको पहिचान गरी सोही अनुसार प्रकृयामा जाने सम्बन्धमा आवाज उठेको छ ।

एकपछि अर्को गर्दै बैंकका प्रमुख कार्यकारीहरुलाई बैंकले जबरजस्ती निकाल्न थालेपछि यस्तो आवाज उठेको हो । संघले एनआईसी एशियाको पछिल्लो कदमको समीक्षा गर्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा यही फागुन २७ गते आइतबार अर्को बैठक आह्वान गरेको छ । उक्त बैठकमा एनआईसी एशिया बाहेकका २७ वाणिज्य बैंकलाई आमन्त्रण गरेको