“साल्पाका सुसेली” कविता संग्रह बिमोचन

काठमाडौं- एक समारोहमा आज साल्पाका सुसेली नामक कविता संग्रह बिमोचन गरिएको छ। साल्पासिलोछो सेवा समाजले आयोजना गरेको कार्यक्रममा बरिष्ठ साहित्यकार शैलेन्द्र साकारले संग्रहको बिमोचन गर्नुभएको हो।

भोजपुरको साल्पासिलिछो गाउँपालिकाका पचपन्न भन्दा बढी कवि कवयित्रीले रचना गरेका कविताहरुको संगालो रहेको संग्रह बिमोचन पश्चात कवि शैलेन्द्र साकारले कवितामा मानिस डुब्न थालेपछि सबै कुरा बिर्सिने बताउनुभयो। आफू युवा अवस्थामा काठामाडौं पढ्न आएको तर कविता लेखेको लेख्यै गर्दा एकोहोरिएर कलेज जानै बिर्सेको संस्मरण सुनाउनुभएको थियो।

भरखरै गठन भएको भएपनि साल्पासिलिछो सेवा समाजले सुरुकै चरणमा निकै राम्रो काम गरेकोमा पूर्व मन्त्री कृपाशुर शेर्पाले समाज अन्तर्गत रहेका खट्नुभएका सबैजनालाई बधाई तथा धन्यवाद ब्यक्त गर्नुभयो। साहित्य समाजको दर्पण हुने भन्दै यस्ता काम हुँदै जाउन् भन्दै वहाँले शुभकामना दिनुभयो।

संग्रह बिमोचन कार्यक्रममा पूर्व राज्यमन्त्री पदम राई, साहित्यकार पवन आलोक, भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ् दोर्ची सेर्पा, काठमाडौं जिल्ला न्यायाधीश राजेन्द्र अधिकारी, समाजसेवी तथा राजनीतिज्ञ बाबुराम बस्नेत, कान्तिपुर सिटी कलेजका प्रवन्ध निर्देशक डा. प्रलाद कार्की, पूर्व प्रशासक विष्णु कार्की, शिक्षक तथा साहित्यकार शंकर कुमार राई लगायतले आफ्ना साहित्यीक मन्तव्य राख्नुभएको थियो।

कार्यक्रम सभाध्यक्षको तर्फबाट समाजका अध्यक्ष केशव अधिकारीले समाजले गत बर्ष फागुन १७ गते काठमाडौंमा आयोजना गरेको प्रतियोगीतात्मक कवि गोष्ठीका कविता र पछि थप संकलित कवितालाई संकलन गरेर संग्रह प्रकाशन गरेको जानकारी दिनुभयो। भनेजति सबै कवि कवयित्रीको कविता समाबेश गर्न नसकेपनि यस्तो प्रयास फेरी गरिने भन्दै वहाँले अरु कवि कवयित्रीलाई राम्रा राम्रा कविता लेखेर तम्तयार भएर बस्न अनुरोध गर्नुभयो। समाजको यो प्रयास पहिलो हो भन्दै प्रकाशनमा देखा परेका कमी कमजोरीलाई त्यहि रुपमा बुझिदीन अनुरोध गर्दै वहाँले संस्था आगामी दिनमा गठनको पूर्ण स्वरुपमा जाने र गाउँपालिकाको बिकाशमा पनि संस्थाले भूमिका खेल्ने बताउनुभयो।