भोजपुर- भोजपुरको तात्कालिन केउरेनीपानी गाउँ पञ्चायतका प्रधानपञ्च तथा समाजसेवी शेर बहादुर राईको निधन भएको छ । ९० बर्षीय राईको  उपचारको क्रममा शुक्रवार वेलुका विराटनगरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

केहि बर्ष देखि दमको रोगी रहेका राई हात, खुट्टा सुन्नीने समस्या समेत देखिएपछि एक महिना अघि उपचारकोलागि ईटहरी गएका थिए । सामान्यरुपमा उपचार गराईरहेका राईलाई एक्कासी विरामले च्यापेपछि उपचारको क्रममा विराटनगर स्थित विराट मेडिकल टिचिंग हस्पिटलमा निधन भएको पारवारिक स्रोतले जनाएको छ ।

समाजसेवी राई २०३६ सालमा वडाध्यक्ष र २०४३ सालमा केउरेनीपानी गाउँ पञ्चायतमा प्रधानपञ्च पदमा निर्वाचित भएका थिए । राईले नेपाली कांग्रेसको गाविस सभापति, किसान संघको जिल्ला सदस्य, बृद्ध समाजको षडानन्द नगरपालिका अध्यक्षको जिम्वेवारी सम्हालेका थिए । शारदा प्राथमिक विद्यालय, केउरेनीपानी स्वास्थ्यचौकी स्थापनामा पनि उनको विशेष योगदान रहेको थियो । स्थानिय संस्था जनचेतना अभियान नेपालको संस्थापक सल्लाहकार रहेर समाज सुधारमा राईले योगदान गरेका थिए ।

राईका श्रीमती र २ छोराको यसअघिनै निधन भईसकेको छ भने ४ छोरी र एक वुहारी रहेकाछन् । राईको आजनै  षडानन्द नगरपालिका- ६ साल्मामा अन्त्योष्ठी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया