अन्जना राईः स्कुले खेलाडीदेखि फिफा रेफ्रीसम्मको यात्रा

हाम्रो पुरुष प्रधान समाजले महिलालाई परापुर्वकाल देखिनै शारिरीक, मानशिक हिसावले असक्षमताको ट्याग भिराउँदै आएको छ । महिला चुलो चौकोमै सिमित हुनुपर्छ भन्ने मान्यता अधिकांस महिलामा पनि अहिले सम्म पनि रहिआएको छ । तर त्यो तितो यथार्थ नेपाली पूर्व फुटवल खेलाडी तथा फिफा रेफ्री अन्जना राईमा भने मेल खाँदैन ।

वि.सं. २०४९ मा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका- ९ देउरीमा बुबा गणपति राई र आमा जमुना राईको कोखबाट साईली छोरीको रुपमा अन्जना राईको जन्म भएको थियो । अलि जिद्दी स्वभावकी अन्जनाको बाल्यकाल गाईघाटमै बित्यो । सानैदेखि पढाईमा भन्दा बढी खेल्न मन पराउने अन्जनाको पढाई सामान्य रहेको बताउछिन । उनले खेललाई निरन्तरता दिदै गर्दा श्री जनता माविबाट एसएलसि पास गरिन ।

सानै उमेरदेखि फुटबल खेल्दै आएकी राईलाई घरपरिवारबाट शुरुवाती अवस्थामा खासै साथ सहयोग नरहेको बताउँछिन । गाउँघरमै सामान्य रुपमा दाईहरुसंग फुटबल खेल्ने गरेकी राईले काठमाडौमा इन्टर स्कुल फुटबल प्रतियोगिता छनौटको लागि गाउँकै एक दाई रमाघाङ चौधरीले उनलाई बोलाएको र छनौट भएर आफ्नो फुटबल यात्रालाई त्यहिंबाट अगाडी बढाएको सम्झिन्छिन् ।

खेल जीवनलाई नै आफ्नो भविष्य बनाएकी राईले खेल क्षेत्रमै लागेर २०६९ सालमा गाईघाटको अठार बाहिनीबाट नेपाल आर्मीमा जागीर खान पनि शुरु गरेकी थिईन् । उनले लामो समयसम्म फुटबलमा लागेर खेलाडी जीवनकै रुपमा अनुभव गर्न नपाए पनि फुटबल खेलमै निर्णायकको भुमिकामा अन्जना अहिले फुटबल मैदानमा व्यस्त नै छिन् ।

एक वर्षसम्म अन्जनाले नेपाल आर्मीमा खेलाडी जीवन बिताए पनि त्यसपछि उनी रेफ्रीको भुमिकामा बढी देखिन थालिन । उनले आर्मीको जागीर खानु भन्दा अगाडी नै २०६९ सालमै रेफ्रीको कोर्ष गरि ब्याज प्राप्त गरि सकेकी थिइन । “जे गर्नु छ बेलैमा गर्नु अर्थात उमेरमै गर्नु” भने झै अन्जनाले आफ्नो रेफ्री जीवनलाई अगाडी बढाउने एउटा सुनौलो अवसर प्राप्त गरेकी थिइन ।

काम गर्दागर्दै भाग्यले पनि साथ दिनुपर्छ भने झै अन्जनालाई पनि भाग्यले साथ दिएको जस्तो भयो । सन् २०१६ ताजिकिस्तानमा भएको एएफसी यु–१४ गल्र्स रिजनल च्याम्पियनसिपको लागि नेपालबाट पनि महिला रेफ्री प्रतियोगिता खेलाउन जानुपर्ने र कम उमेरको रेफ्री पनि चाहिएको भन्ने थाहा पाएपछि अन्जनाले त्यसमा अवसर पाएकी थिईन् । त्यतिबेला उनको उमेर मात्र २३ बर्षको थियो । अन्जनाका अनुसार उनले रेफ्री मै आफ्नो भविष्य त्यतिबेलैबाट खोज्न शुरु गरेको समेत स्मरण गर्छिन् ।

त्यसपछि अन्जनाले मोफसलका प्रतियोगिता, महिला लिग लगायत एक पछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि आफ्नो उपस्थिति जनाउन थालिन् । त्यसमध्ये सन् २०१६ ताजिकिस्तानमा भएको एएफसी यु–१४ गल्र्स रिजनल च्याम्पियनसिप, सन् २०१७ बङ्गलादेशमा भएको साफ यु–१५ वुमन्स च्याम्पियनसिप, सन् २०१९ भुटानमा भएको साफ यु–१५ वुमन्स च्याम्पियनसिप र सन् २०१९ नेपाल मै भएको साफ वुमन्स च्याम्पियनसिपमा आफूलाई निर्णायकको भूमिका निभाउन सफल भईसकेकी छिन् ।

फिफा रेफ्रीका लागि एन्फाले वर्षेनी नेपालबाट पुरुषतर्फ ४ रेफ्री र ६ सहायक रेफ्री तथा महिलातर्फ १ रेफ्री र १ सहायक रेफ्रीको नाम सिफारिस गर्ने गरेको छ । फिफा रेफ्री बनेपछि अन्तर्राष्ट्रिय रूपमा नेपालको तर्फबाट खेलमा सहभागिता जनाउन पनि अवसर पाउने हुन्छ ।

छोटो समयमा नै आफुलाई रेफ्री क्षेत्रमा अगाडी बढाउन सक्षम बनेकी अन्जनाले सन् २०२१ मा नेपालबाट एक मात्र फिफा महिला रेफ्रीको ब्याज प्राप्त गरेकी थिइन । अन्जना भन्छिन, “नेपालमा एकदम कम मात्रामा महिला रेफ्री रहेको छ । अहिले अन्तर्राष्ट्रिय महिला रेफ्रीहरुको लागि पनि अवसर प्रर्याप्त मात्रामा रहेको छ । उमेर छँदै रेफ्री कोर्ष गरेपछि अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै आफुलाई अगाडी बढाउन सकिने अवसर पनि हुन्छ ।”

उनी अगाडी भन्छिन्, “नेपालको सन्दर्भमा कुरा गर्दा महिला रेफ्रीहरुको खासै राम्रो भविष्य छैन । नेपालमा एकदम कम मात्रामा महिला प्रतियोगिता हुने भएता पनि महिला रेफ्रीहरुलाई कम अवसर दिने गरेको पाइन्छ । जसले गर्दा पनि महिला रेफ्रीहरु अझै पछाडी परेको छ ।” केही महिला रेफ्रीहरुले मात्र प्रतियोगिताहरु खेलाएर सबै महिला रेफ्रीहरुको भविष्य नबन्ने कुरामा राईको निचोड छ । त्यसका लागि सबै महिला प्रतियोगिताहरुमा महिला रेफ्रीहरु प्रयोग गर्न जरुरी रहेको उनको ठम्याई पनि छ ।

उनको विचारमा मेपालमै महिला रेफ्रीहरुको लागि भविष्य खोज्नका लागि ब्याज प्राप्त महिला रेफ्रीहरु पनि योग्य हुन जरुरी छ । त्यसपछि जतिपनी महिला प्रतियोगिता हुन्छ, त्यसमा महिला रेफ्रीहरुलाई प्रतियोगिताहरु खेलाउन दिने हो भने मात्र महिला रेफ्रीहरुलाई रेफ्रीमै भविष्य खोज्न सजिलो हुने राईको बुझाई पनि छ । जसका लागि महिला प्रतियोगिताहरु पनि बढी भन्दा बढी हुन आवश्यक रहेको उनी बताउँछिन् ।

उनी भन्छिन्, “मैदानमा उत्रिएपछि खेलाडीलाई भन्दा बढी दबाब रेफ्रीलाई पर्छ । पूरै ९० मिनेटसम्म मैदानमा कुदेको कुदै गर्नुपर्यो । खेलाडीलाई पनि हेर्नुपर्यो, अनि बललाई पनि पछ्याइरहनुपर्यो । सिठ्ठी बजाउनासाथ निर्णय पनि गरिहाल्नुपर्यो । मैदानमा बलले लाग्ने र खेलाडीसँग ठोक्किने त्यत्तिकै सम्भावना हुन्छ । रेफ्रीलाई आफ्नो पोजिसन मिलाउन पनि गाह्रै पर्छ । आफ्नो फिटनेस मेनटेन गर्नेदेखि डाइट खानेसम्म ध्यान दिनुपर्छ ।”

नेपालमा हाल तीन स्तरका रेफ्रीहरूले घरेलु फुटबलमा खेल संचालन गर्ने गरेका छन् । एन्फाले वर्षेनी विभिन्न स्थानमा रेफ्री कोर्स गरेर त्यसमा उत्तीर्ण हुनेलाई ‘एन्फा रेफ्री’ बनाउने गरेको छ । एन्फा रेफ्री मध्यबाट उत्कृष्टलाई छनोट गरेर ‘राष्ट्रिय रेफ्री’ छनोट हुने गरेका छन् । र त्यस सुचिबाट खेलको प्रदर्शन, विगतका अनुभव, फिटनेस टेस्ट र लिखित परिक्षापश्चात् उत्कृष्ट रेफ्री छनोट गर्ने प्रावधान रहेको छ ।

यो क्षेत्रमा कमाइ कम चुनौती बढी छ । प्रतियोगिताहरु पनि भने जति नहुने र जति भएको छ त्यसमा कम स्थान पाइने गरेको राईको गुनासो छ । अहिलेको अवस्था हेर्ने हो भने रेफ्रीहरु असुरक्षित रहेको राई बताउछिन । विभिन्न ठाउँमा भएको प्रतियोगितामा रेफ्री कुटिएको समाचारले पनि रेफ्री क्षेत्रलाई झन असुरक्षित बनाएको छ । यसमा एन्फाले साथै आयोजकले पनि विशेष ध्यान दिनु पर्ने उनको बुझाइ छ ।

रेफ्रीहरुको हकहितको लागि पनि एन्फाले विशेष योजना ल्याउनु पर्ने उनको बुझाइ छ । रेफ्रीहरुले यसबाट आफ्नो आर्थिक अवस्थालाई सुधार्न सक्ने राईको सुझाव पनि छ । यसलाई नै आफ्नो भविष्य बनाउनेहरुको लागि अन्जना भन्छिन्, “रेफ्री क्षेत्रमा भविष्य खोज्ने हो भने खेलाडी जीवन सकेर रेफ्री गर्छु भन्दा पनि १८, २० वर्षकै उमेरमै रेफ्री कोर्स गरेपछि अन्तर्राष्ट्रिय स्तरमा आफुलाई स्थापित गर्न सकिन्छ ।” मेहनत गर्नेहरुको लागि महिला रेफ्रीमा अन्तर्राष्ट्रिय स्तरमा राम्रो भविष्य साथै राम्रो कमाई पनि रहेको राई बताउछिन ।

उनी उमेरले २८ वर्ष पूरा भइसकेकी अन्जना अझै पनि बिहे नगर्ने सोचमा रहेको बताउँछिन । उनी भन्छिन् “भखरै फिफा रेफ्री भएको छु, । अझै मेहनत गरेर एसियामै छनोट हुन मन छ । अन्तर्राष्ट्रिय स्तरमा महिला प्रतियोगिताहरु पनि बढी हुने गर्दछ र आफुलाई त्यसको लागि पनि फिट रहनु छ ।” त्यसपछि मात्र बिहे गर्ने सोच रहेको अन्जना बताउछिन ।